२९ असार २०८३, सोमबार
पूर्व सभामुख पक्राउ प्रकरण

भारततर्फ भाग्न खोज्दै थिए महरा ?

चैत ५, २०८०
बुटवल
भारततर्फ भाग्न खोज्दै थिए महरा ?

सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

पश्चिम (गन्तव्य यकिन नभएको)तर्फ जाँदै गरेका महरालाई सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठमाडौं फर्काएको थियो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै महरालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेको छ ।

महरालाई विमानस्थलबाट सिधै सीआईबी लगिएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्न आइतबार नै प्रहरीलाई निर्देशन दिएको खबर बाहिरिएको थियो ।

सुन तस्करीका सम्बन्धमा छानबिन गर्न गठित आयोगले मुद्दा चलाउन सिफारिश गरेका आधारमा महरालाई पक्राउ गरेर हिरासतमा राखिएको हो ।

कता जाँदै थिए महरा ?

स्रोतका अनुसार पक्राउ परिने सम्भावना बढेपछि महराले आइतबार राति काठमाडौं छाडेका थिए । महरा राजधानीबाट बाहिरिएको सूचना पाएपछि प्रहरीले भारतीय सीमा नाकाहरूमा निगरानी बढाएको थियो ।

स्रोतका अनुसार महरा पार्टी निकट एक व्यक्तिको प्राइभेट गाडीमा सोमबार बिहान पूर्वी नवलपरासी पुगेका थिए । त्यहाँबाट अर्कै गाडी चढेर पश्चिम नवलपरासीको बर्दघाट पुगेको पाइएको प्रहरी स्रोतको दाबी छ ।

त्यहाँबाट उनी बुटवलतर्फ लागेनन्, तल्लो बाटो सुनवल हुँदै भैरहवा पुगे । भैरहवाबाट लुम्बिनी हुँदै कपिलवस्तुको पकडी पुगेपछि प्रहरीले फर्काएको हो ।

बर्दघाटबाटै प्रहरीले उनलाई पिछा गरेको थियो । पकडीमा प्रहरीले ब्यारियर राखेको थियो । महरा चढेको बा ०१० २७ च १९९३ नम्बरको गाडी प्रहरीको ब्यारियर छलेर अगाडि बढ्यो । गाडी भारतीय सीमा क्षेत्र अलिगढवातिर लागेपछि घेरा हालेर नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।

तर, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित राठोर भने महरा दाङतर्फ जान लागेको पाइएको बताउँछन् । ‘उहाँ (महरा)को स्वास्थ्य कमजोर रहेछ । बिरामीजस्तो देखिनुभएको थियो । केन्द्रबाट उहाँलाई फिर्ता पठाउन आदेश आएपछि हामीले विमानमार्फत काठमाडौं पठाएको हौं,’ राठोरले भने ।

महराले दाङको एक विवाह समारोहमा जान लागेको बताएको राठोरले जानकारी दिए ।

विप्लवसँग जम्काभेट !

प्रहरीले महरालाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा पुर्‍याउँदा त्यहाँ नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवसँग जम्काभेट भयो । विप्लवलाई महराले सोधे, ‘तपाईं कता जान लाग्नुभयो ?’ विप्लवले काठमाडौं जान लागेको बताए । त्यसपछि महरालाई विप्लवले सोधे, ‘तपाईं कता नि ?’ जवाफमा महराले ‘खै, साथीहरूले मलाई हिँडाए’ भनेको प्रत्यक्षदर्शी पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।

अहिले विद्युतीय चुरोट (भेप)मा राखेर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुलविरुद्ध मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको सीआईबीले जिल्ला अदालत, काठमाडौंमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । 

त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर, राहुलमाथि मुद्दा दर्ता गरिए पनि महरालाई उन्मुक्ति दिइएको थियो । 

यता पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि सुन काण्ड र सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएपछि पक्राउ परेका छन् । सहकारीसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पुनलाई बुटवल ल्याइएको छ ।

पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्