
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘त्यो त सम्भव छैन तर, शर्त भने राख्न सक्छौं ।’ त्यसपछि उनीहरूले भने– ‘त्यसो हो भने हामी दुईबाहेक कसैको हातबाट हाम्रो मृत्यु नहोस् ।’ भगवान् तथास्तु भनेर गए । उनीहरू अमर ठानेर गर्नु/नगर्नु गर्न थाले । उनीहरूको ज्यादतीबाट आजित भएपछि भगवान् एक सुन्दर युवती बनेर आए । अन्ततः उनीहरूबीच यिनैका कारण झगडा पर्यो र आपसमा काटकाट गरेर सकिए । अर्थात् जसको हो उसैले लगे वा जहाँबाट आएका थिए उतै गए ।
यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन । कथा हो हुन पनि सक्छ नहुन पनि सक्छ तर, हामी सबैको जीवनदर्शन भने पक्कै हो । संसार कसैको पनि होइन । जसलाई हामी आफ्नो भनिरहेका छौँ त्यो त झन् हुँदै होइन । किनकि हामीलाई जीवन दिएका पनि अर्कैले हो, लिने पनि अर्कैै हुन्छ । धनसम्पत्ति दिने पनि अरू नै हुन्छन्, लिने पनि अरू नै हुन्छन् । यहाँसम्म कि हाम्रो शरीर र नामसमेत आफ्नो होइन । यसलाई दिएका पनि अरूले नै हो । लिन पनि अरू नै आउँछन् । जसलाई हामी आफ्नो सन्तान भनेर आफूलाई भन्दा पनि बढी माया गर्छौँ तिनलाई समेत दिएको अर्कैले हो र लिन पनि अर्कै आइपुगेको हुन्छ । हाम्रा घर, जग्गा, पद, प्रतिष्ठा त यसै पनि आफ्नो हुँदै होइन ।
पहिले सुताउने पनि अर्कै, अन्तिम सुताउने पनि अर्कै । पहिले खुवाउने पनि अर्कै, अन्तिम खुवाउने पनि अर्कै । पहिले चुठाउने पनि अर्कै, अन्तिम चुठाउने पनि अर्कै । पहिले बोक्ने पनि अर्र्कै, अन्तिम बोक्ने पनि अर्र्र्कै । पहिले स्नान गराउने पनि अर्कै, अन्तिम स्नान गराउने पनि अर्कै । बोल्न सिकाउने पनि अर्कै, बोली बन्द गराउने पनि अर्र्कै । गति दिने पनि अर्कै, गति बन्द गराउने पनि अर्कै । सिकाउने पनि अर्कै, बिर्साउने पनि अर्कै । उठाउने पनि अर्कै, बसाउने पनि अर्र्कै । उडाउने पनि अर्कै, खसाउने पनि अर्कैै । मान दिने पनि अर्कै, बदनाम गराउने पनि अर्कै ।
घुमाउने पनि अर्कै, रोकाउने पनि अर्कै । देखाउने पनि अर्कै, बन्द गराउने पनि अर्कै । सुन्न सक्ने बनाउने पनि अर्कै, नसक्ने बनाउने पनि अर्कै । ल्याउने पनि अर्कै, लाने पनि अर्कै । मिलाउने पनि अर्कै, छुटाउने पनि अर्कै । लगाइदिने पनि अर्कै, फुकालिदिने पनि अर्कै । उचाल्ने पनि अर्कै, खसाल्ने पनि अर्कै । हँसाउने पनि अर्कै, रुवाउने, पनि अर्कै । देखाउने पनि अर्कै, लुकाउने पनि अर्कै । लेखाउने पनि अर्कै, मेटाउने पनि अर्कै । खेलाउने पनि अर्कै, चलाउने पनि अर्कै ।
यसको अर्थ हो आफ्नो भन्ने केही पनि थिएन र रहने पनि छैन । तथापि आश्चर्य त के भने हामी आफू र आफ्नो भनेर मरिहत्ते गरिरहेका हुन्छौँ, घमन्ड गर्छौँ, अहङ्कार गर्छौँ । जब लिने, दिने, गर्ने, गराउने सबै अर्कै हुन्छ भने यति ठूलो घमन्ड र अहङ्कार किन ? कहाँ छौँ हामी ? के गरेका छौँ हामीले ? केही पनि छैन । जब भोक, तिर्खा र निद्रासमेत अर्कैको हो, अर्कैले दिएपछि नै पाइने हो भने बाँकी के रह्यो र ?
सब भाडाका हुन्, भाडामै लिइएको हो । त्यसैले जसको हो उसैलाई फिर्ता दिएर जानुपर्छ । न पहिले आफ्नो थियो न पछि नै रहने छ । पहिले भएको भए पो भए पो पछि पनि हुने । पहिले नै थिएन त कसरी पछि हुने ? यही नै जीवन हो, यही जगत् हो । अनि यही नै जीवन र दर्शन पनि हो । त्यसैले जे मिलेको छ त्यसैमा सन्तुष्ट हुन पनि जान्नुपर्छ र सदुपयोग गर्न पनि सक्नुपर्छ । होइन भने उही हो सँधैको अभाव, सँधैको असन्तुष्टि ।