×

NMB BANK
NIC ASIA

नेवानीको परिचय फेर्दै युवराज

काँचुली फेर्दै निगम : विमान खरिद र अस्ट्रेलिया-कोरिया उडानले हुनसक्छ कायापलट

‘नेतृत्वले अगाडि सारेका योजनामा कर्मचारी संगठनहरूको अभूतपूर्व समर्थन’

काठमाडाैं | मंसिर ४, २०८०

NTC
Sarbottam
कार्यकारी अध्यक्ष युवराज अधिकारी र त्रिभुवन विमानस्थलमा देखिएको निगमको जहाज
Premier Steels
Marvel

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहेर ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको निगम नयाँ जहाज किनेर सेवा विस्तारको योजनामा लागेको हो । 

Muktinath Bank

नयाँ व्यवस्थापन आएर सुधारका काम र व्यापार विस्तार गरेपछि निगममा सुधारका संकेतहरू देखिएका हुन् । राष्ट्रिय ध्वजाबाहक विमान सञ्चालन गर्ने संस्थान निरन्तर घाटामा जाँदा सरकारलाई टाउको दुखाइको विषय बनेको थियो । यतिसम्मकि निगमकै महाप्रबन्धकले निगम विघटन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७८ कात्तिकमा युवराज अधिकारी कार्यकारी अध्यक्ष भएपछि निगमभित्र क्रमशः सुधारका संकेत देखिएका थिए । अधिकारी निगमको पूर्व कर्मचारी समेत रहेकाले निगमका अवसर र चुनौतीबारे जानकार छन् ।  


Advertisment
Nabil box
Kumari

आर्थिक अवस्थामा सुधार आएसँगै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुईवटा न्यारोबडी जहाजको पूरै र वाइडबडी जहाजको आंशिक गरी ४ अर्ब ३० करोडभन्दा बढी ऋण तिरेको छ । अन्तिमपटक गएको असोज ३० गते ५३ करोडभन्दा बढी किस्ता निगमले तिरेको छ । त्यसअघि तिरेको ३ अर्ब ७७ करोड समेत जोड्दा अधिकारीको नेतृत्वमा तिरिएको ऋणको अंक ४ अर्ब ३० करोडभन्दा माथि पुग्छ ।

Vianet communication
Laxmi Bank

अधिकारी नेतृत्वमा आउनुअघि निगमले लामो समयसम्म ऋण र ब्याज तिर्न सकेको थिएन । ऋणबापतको नियमित किस्ता समयमै तिरेर आफ्नो दायित्व घटाउने काममा व्यवस्थापन लागि परेको छ । 

अवस्था कतिसम्म नाजुक भएको थियो भने निगमले वाइडबडी खरिद गर्दाको ऋण तिर्न नसकेपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जमानी बसेको सरकारलाई गुहारेका थिए । 

कर्मचारीलाई तलब खुवाउन नै मुस्किल पर्ने अवस्थाबाट गुज्रेको निगमले अहिले क्रमशः सुधारका संकेतहरू देखाइरहेको हो ।

अन्तर्राष्ट्रिय गन्तव्य थपेर भरपर्दो उडान

निगमले नेपाली यात्रु रहेका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान थपेको छ भने यसअघि सञ्चालनमा रहेको क्षेत्रमा समेत उडान थप गरेको छ, जसले निगमको व्यापार बढाएको छ भने जहाज निरन्तर उड्न पाएका छन् । निकट भविष्यमा केही नयाँ गन्तव्यमा उडान शुरू गरेर व्यापार विस्तारको अन्तिम तयारीमा निगम लागेको छ । 

नेपाली युवा विद्यार्थीको आकर्षणको केन्द्र बनेको अस्ट्रेलियामा निगमले निकट भविष्यमा उडानको तयारी गरेको छ । अस्ट्रेलियाको सिड्नी, श्रीलंकाको कोलम्बो, चीनको गोञ्झाओ र दक्षिण कोरियामा उडान भर्नका लागि निगमले गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

अस्ट्रेलियामा हुने नयाँ उडानले निगमको व्यापारलाई उचाइमा पुर्‍याउने अपेक्षा व्यवस्थापनको छ । अस्ट्रेलियामा उडान शुरू भए पनि नेपाली यात्रुले आफ्नै राष्ट्रिय ध्वजाबाहकमार्फत आरामदायी यात्राको अनुभव गर्न पाउने छन् ।

‘नेपाली नागरिकसँग महंगो भाडा असुलिरहेका गिरोहले अस्ट्रेलिया उडानमा व्यवधान खडा गर्न कोशिश गरिरहेका छन्,’ निगमका कार्यकारी अध्यक्ष अधिकारीले लोकान्तरसँग भने, ‘सबै व्यवधान छिचोल्दै छिट्टै राष्ट्रिय ध्वजाबाहक विमान अस्ट्रेलिया उड्ने छ ।’

null

बौद्ध धर्मावलम्बी पर्यटकका लागि लक्षित गरेर काठमाडौं–बैंग्लोर–कोलम्बो उडानको गृहकार्य भइरहेको अधिकारीले बताए ।

‘काठमाडौं–बैंग्लेर–कोलम्बो उडानबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । बुद्ध धर्मप्रति आस्था राख्ने पर्यटकलाई नेपाल भित्र्याई राष्ट्रिय स्वार्थलाई सपोर्ट गर्ने हिसाबले हामीले गृहकार्य गरिरहेका छौं,’ अधिकारीले भने । 

निगमले नेपाली कामदारको आकर्षणको केन्द्र बनेको दक्षिण कोरियामा पनि उडानको गृहकार्य गरिरहेको छ ।

ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदार महंगो टिकट काट्न बाध्य छन् । निगमले उडान भरेमा नेपाली कामदारले समेत सस्तोमा यात्रा गर्न पाउने छन् । नयाँ गन्तव्यमा उडान थप्नका लागि निगमले दुईवटा न्यारोबडी विमान भाडामा ल्याउने गृहकार्य गरिरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमान छन् ।

नेपालका सबै विमानस्थलमा उडान भर्न नयाँ जहाज खरिद

निगमले नेपालमा दुर्गम क्षेत्रका विमानस्थलमा नियमित उडानका लागि जहाज थप्ने तयारी गरेको छ । तीनवटा स्टल एयरक्राफ्ट खरिदका लागि अक्टोबर २३ मा सूचना प्रकाशित भएको छ ।

निगमले यसपटक बीचमा मध्यस्थकर्ता नराखी सिधै उत्पादकसँग जहाज खरिद गर्ने निर्णय गरेको छ । सिधै उत्पादकसँग जहाज खरिद गर्दा कमिसनका लागि हुने बिचौलियाको चलखेल रोकिने छ । 

अहिले निगमले ४० वर्ष पुराना ट्वीनअटर विमानमार्फत दुर्गम क्षेत्रमा उडान गरिरहेको छ । नियमित मर्मतसम्भार गरेका कारण दुईवटा ट्वीनअटर विमानले अहिले पनि दुर्गमका जिल्लामा यात्रुलाई सेवा दिइरहेको छ । कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पमा घाइते भएकालाई पनि निगमको ट्वीनअटर विमानले उद्धार गरेको थियो ।

दुर्गमका क्षेत्रमा नियमित उडान तथा यात्रुलाई सुलभ भाडामा यात्रा गराउनका लागि जहाज खरिद गर्न लागिएको अधिकारीले बताए । ‘निगमले नियमित उडान गरेपछि दुर्गमका सर्वसाधारणले सहज यात्रा गर्न पाउनुहुनेछ, साथै भाडामा हस्तक्षेप भई अन्य वायु सेवा कम्पनीले भाडा घटाउन बाध्य हुनेछन्,’ अधिकारीले भने । 

अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी विमान भाडामा लिन प्रक्रिया अगाडि बढाइसकिएको निगम व्यवस्थापनले जनाएको छ । ‘निगमको सेवा विस्तारका लागि जहाज नथपेसम्म उडान शेड्युल मेन्टेन गर्न सकिँदैन । समयमा उड्ने र समयमा पुग्ने भएपछि मात्र हामीसँग प्यासेन्जर आकर्षित हुन्छन् । यसका लागि विमान थप्नु आवश्यक छ,’ अधिकारीले भने ।

हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । निगमले अहिले ८ देशका १० ठाउँमा उडान भरिरहेको छ । भारतमा नयाँ दिल्ली, मुम्बई र बैंग्लोरमा नेपालको राष्ट्रिय ध्वजाबाहक विमान पुग्छन् । यस्तै कतारको दोहा,  यूएईको दुबई, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता लगायतका क्षेत्रमा पनि निगमले उडान गरिरहेको छ । 

मन्त्रीसँग ट्युनिङ र कर्मचारीको साथ  

पटक–पटक सांसद निर्वाचित भएपनि यसअघि मन्त्री नबनेका सुदन किराँतीले आफ्नो पहिलो कार्यकालमा केही नयाँ गर्न खोजेका थिए । मन्त्री बनेलगत्तै निगमको कार्यालयमा गएर किराँतीले निगमको अवस्था देखेर आफ्नो आँसु आएको बताएका थिए । निगमको सुधारलाई प्राथमिकतामा राखेको समेत उनले बताएका थिए ।

मन्त्री किराँती र कार्यकारी अध्यक्षको ट्युनिङ मिल्दा अहिले निगमले काम गर्न सकेको त्यहाँका अधिकारीको अनुभाव छ । निगम सुधारको अभियानमा मन्त्रीले साथ दिएका छन् भने कर्मचारीको पनि सहयोग मिलेको छ । जीवनको ऊर्जाशील समय निगममा खर्चिएका अधिकारीलाई निगमको अवस्था र आवश्यकताबारे जानकारी तथा कर्मचारी परिचालनको अनुभव छ ।

बाहिरबाट नियुक्त भएका अध्यक्ष या महाप्रबन्धकसँग भन्दा अधिकारीसँग निगमबारे अतिरिक्त ज्ञान र कार्यानुभव भएका कारण कर्मचारीसँग उनको काम गर्ने शैली मिलेको छ ।

‘अहिलेको सरकारको नेतृत्व र मन्त्रीज्यूको मार्गनिर्देशनका कारण निगममा सुधार सम्भव भएको हो । अहिले चालिएका सुधारमार्फत हामी निगमलाई नाफामा लगेर उदाहरणीय बनाउन सक्छौं,’ अधिकारीले भने । 

null

निगमलाई निजीकरण गर्ने एजेन्डामा अधिकारी सहमत छैनन्, त्यसैले पनि कर्मचारीसँग उनको तालमेल मिलेको छ ।

‘राष्ट्रिय ध्वजाबाहकलाई प्रभावकारी बनाएर विश्वका धेरै मुलुकमा नेपालको कनेक्टिभिटी बढाउनु पर्छ, यसका लागि निगममा धेरै सुधार गर्न सकिन्छ,’ अधिकारी भन्छन्, ‘कर्मचारीहरू निजीकरणको पक्षमा छैनन्, म पनि त्यसको पक्षमा छैन ।’

गत महिना हमासको आक्रमणपछि इजरायलबाट नेपाली विद्यार्थीको उद्धार तथा जाजरकोटको भूकम्पमा घाइते भएकाको उद्धारलगायतमा निगमको सक्रियताका कारण राष्ट्रिय ध्वजाबाहकको औचित्य टड्कारो भएको अधिकारीको विश्लेषण छ । 

‘कति नाफा हुन्छ भन्ने बेग्लै विषय हो, तर राष्ट्रिय ध्वजाबाहकलाई बचाउन सरकारले सहयोग गर्नुपर्छ । विदेशी पर्यटकले पनि सकेसम्म सम्बन्धित देशको ध्वजाबाहक नै रोज्ने भएकाले यसलाई प्रभावकारी बनाइनुपर्छ,’ अधिकारी भन्छन्, ‘हामीले ल्याएको पर्यटकका कारण देशमा पर्यटन व्यवसाय बढ्छ । विदेशी मुद्रा आर्जन हुन्छ । यी सबै कुरालाई हेरेर सरकारले राष्ट्रिय ध्वजाबाहकलाई सघाउनु पर्छ ।’

अधिकारीले निगमको अल्पकालीन र दीर्घकालीन सुधारका लागि २६ बुँदे योजना संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र अर्थ मन्त्रालयमा पेस गरिसकेका छन् । 

‘अन्तर्राष्ट्रिय उडानमा नाफा कमाएर डोमेस्टिकमा सेवा गर्ने हाम्रो नीति हुन्छ । नियमित र भरपर्दो उडानमार्फत विदेशमा पनि डोमेस्टिकको टिकट बेच्न सक्ने गरी निगम सुधार्छौं,’ अधिकारीले भने । 

मन्त्रालयमा पेस गरेको नीतिगत सुधारसम्बन्धी योजनामा निगमको विद्यमान दायित्व घटाउँदै आवश्यक संख्यामा थप जहाज खरिद गर्न बजार सर्वेक्षणको आधारमा स्रोत सुनिश्चितता गर्ने उल्लेख छ । 

‘अन्य मुलुकका राष्ट्रिय ध्वजाबाहकको सञ्चालन तथा व्यवस्थापनलाई समेत सन्दर्भको रूपमा लिँदै नेपाल वायुसेवा निगम ऐन, २०१९ लाई परिवर्तित शासकीय तथा आर्थिक परिवेशको आलोकमा सामयिक संशोधन गर्ने,’ कानूनी सुधारको प्रस्तावमा भनिएको छ ।

यस्तै विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको दररेट निर्धारण गर्ने अधिकार निगमलाई नै दिनुपर्नेलगायत विषय पनि योजनामा छन् ।

प्रक्रियागत सुधारअन्तर्गत निगमले आफ्नै क्याटरिङ सेवा सञ्चालन गर्न आवश्यक प्रबन्ध गर्ने सुधारको प्रस्ताव राखिएको छ । माधव संशाधन सम्वद्ध सुधारको योजनामा अनुभवी र तालिम प्राप्त जनशक्तिलाई पलायन हुन नदिन कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावलीमा संशोधन गर्नेलगायत कुरा उल्लेख छन् । 

जहाज किन्ने प्रयासमा सबैको साथ, अवरोध भए युनियनले प्रतिरोध गर्ने 

आन्तरिक उडानका लागि नयाँ जहाज किन्ने र अन्तर्राष्ट्रिय उडानका लागि जहाज भाडामा लिने बोर्डको निर्णयमा सबै कर्मचारी संगठनको समर्थन छ । निगमको व्यवस्थापनप्रति कर्मचारीहरूको अभूतपूर्व समर्थन रहेको दुर्लभै अवसर भएको कार्यरत कर्मचारीहरू बताउँछन् । 

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजु श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पहलकदमीका कारण निगम जहाज किन्न सक्ने अवस्थामा पुगेको बताउँछन् । 

‘अहिलेका मन्त्री किराँतीले एनएसी सुधारका लागि जुन लक्ष्य लिनुभएको छ, त्यसमा सम्पूर्ण कर्मचारीको सहयोग र समर्थन छ । हिजोका मन्त्रीभन्दा अहिलेका मन्त्रीको भूमिका सकारात्मक छ,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘पछिल्ला घटनाक्रमले पनि निगमको आवश्यकता र औचित्य पुष्टि भएको छ । फलस्वरूप वर्षौंदेखि जहाज किन्न नसकेकोमा अहिले जहाज किन्ने निर्णय भएको छ, यसमा हाम्रो पूर्ण समर्थन छ ।’

कार्यकारी अध्यक्ष अधिकारीले जहाज किन्नका लागि सबै प्रक्रिया पूरा गरेर टेन्डर गरेकाले सबै कर्मचारीहरूको समर्थन रहेको श्रेष्ठले बताए । ‘जहाज किन्नुपर्छ भनेर हामीहरूले दबाब र खबरदारी गरेका छौं । कुनै पनि हालतमा पछि हट्न पाइँदैन भनेर कार्यकारी अध्यक्षलाई भनेका छौं, उहाँ जहाज किन्ने अडानमा हुनुहुन्छ । यदि जहाज किन्ने विषयलाई लिएर तपाईंमाथि कुनै चलखेल हुन्छ भने हामीले प्रतिरोध गर्छौं भनेका छौं,’ श्रेष्ठले लोकान्तरसँग भने । 

आन्तरिक प्रयोजनका लागि थप विमान भएमा भविष्यमा हुन सक्ने विपदमा निगमका जहाज उद्धारमा खटिन सक्ने श्रेष्ठको विश्वास छ । 

नेकपा एकीकृत समाजवादीनिकट युनियनका अध्यक्ष कृष्ण बजगाईं निगम सुधारका लागि अहिलेको व्यवस्थापनबाट आशाका किरण देखिएको बताउँछन् । ‘अध्यक्षज्यूले नयाँ जहाज किन्ने र गन्तव्य थप्ने योजना ल्याउनुभएको छ । नयाँ नेतृत्वप्रति यहाँका सबै कर्मचारी आशावादी छन्,’ बजगाईंले लोकान्तरसँग भने, ‘नयाँ नेतृत्वबाट सुधार गर्नुपर्ने काम भएको छ । अनलाइन टिकटको व्यवस्था, समय–समयमा मर्मतलगायत सबै विषयमा कुरा भएको छ ।’

निगम राम्रो लयमा गएकाले व्यवस्थापनलाई कर्मचारीको तर्फबाट राम्रो सपोर्ट रहेको बजगाईंले बताए । अधिकारीले कर्मचारीको वृत्ति विकासका लागि पनि काम गरेको भन्दै कर्मचारी संगठनहरूले काम गर्न प्रोत्साहन मिलेको बताएका छन् ।

नेकपा एमाले निकट कर्मचारी युनियनका अध्यक्ष रामबाबु थापा अहिलेको व्यवस्थापनले शुरू गरेका काम एउटा निष्कर्षमा पुग्दा निगमको कायापलट हुने विश्वास राख्छन् ।

‘मैले बढाइचढाइ गरेको होइन, युवराज अधिकारी आएपछि निगममा धेरै सुधार भएको छ । बिजनेस प्लान बढाउनु भएको छ र तीनवटा जहाज किन्ने काम अन्तिम चरणमा पुगेको छ । यो काम सफल भयो भने निगममा धेरै सुधार हुनेछ,’ थापाले लोकान्तरसँग भने, ‘कर्मचारीको वृत्ति विकासमा भएका प्रयासले कर्मचारीको आत्मबल बढेको छ । निगम सुधार्ने व्यवस्थापनको प्रयासमा सबै संगठनको अभूतपूर्व समर्थन छ ।’

null

अध्यक्ष थापाले निगमलाई बचाउन जहाज किन्नु अनिवार्य रहेको बताए । ‘नेपालमा खुलेका सबै विमानस्थल चलाउनका लागि पनि निगमलाई जहाज चाहिन्छ । निजी क्षेत्रका विमान नाफा हुने ठाउँमा मात्र जान्छन्, जनताको सेवा गर्ने हामीले नै हो,’ थापाले भने ।

निगमको आधिकारिक टे«ड युनियनका पूर्वअध्यक्ष समेत रहेका इन्जिनीयर सुवास डाँगी निगम चल्नै सक्दैन भनेर निजीकरण गर्ने निर्णय भइसकेको परिवेशमा युवराज अधिकारीले निगमलाई पुनर्जीवन दिएको बताउँछन् ।

‘निगमका यसअघिका महाप्रबन्धकले यो संस्था विघटन गर्नुपर्छ भनेर खुलेआम अन्तर्वार्ता दिँदै हिँड्नुभयो । निजीकरण गर्नुपर्छ भनेर सञ्चालक समितिबाट निजीकरणसम्बन्धी निर्णय गराउनुभयो । हामीले ४ महिनासम्म आन्दोलन गरेपछि त्यो निर्णय फिर्ता गरियो,’ डाँगीले २ वर्षअघिको अवस्था स्मरण गर्दै भने, ‘संस्था लिक्विडेसनमा जान्छ भनेर महाप्रबन्धकले दिएको अभिव्यक्तिविरुद्ध कर्मचारीको आन्दोलन सफल भयो । त्यही परिवेशमा अहिलेको नेतृत्व आएर सुधारका काम गरेर देखायो ।’

डिमप्रकाश पौडेल महाप्रबन्धक रहेको समयमा २५ प्रतिशत शेयर बेचेर निगमलाई निजीकरणमा लैजाने तयारी भएको थियो । त्यसविरुद्ध निगमका कर्मचारी आन्दोलित भएका थिए ।

‘अहिले आफ्नै स्रोतले आन्तरिक उडानका लागि जहाज किन्ने निर्णय भएको छ, त्यसले यसअघि निगम आधा घण्टा पनि बाँच्दैन भन्ने प्रवृत्तिलाई दह्रिलो जवाफ भएको छ । निगम जीवित छ । उपयुक्त नीति नियम भयो भने भविष्यमा पनि यस्ता जहाज किनेर निगम आफ्नै खुट्टामा उभिने मात्र होइन, नेपालको अर्थतन्त्रलाई नै योगदान गर्न सक्छ,’ डाँगीले लोकान्तरसँग भने ।

अन्तर्राष्ट्रिय जहाज थप्ने, सफ्ट लोनमार्फत यसअघि लिएको महंगो ब्याजदरको ऋण अर्कोमा सार्नेलगायत अहिलेको व्यवस्थापनका योजना सफल भएमा निगमले फड्को मार्ने डाँगीको विश्वास छ ।

‘सरकारी संस्थान राज्यको ढुकुटी सिध्याउने, जनताको कर खाएर बाँच्ने परजीवि प्रकृतिका संस्था हुन् भन्ने जुन भाष्य सिर्जना गरिएको छ, अहिलेको नेतृत्वले काम गर्न पायो भने निगम त्यसको अपवाद बन्ने छ,’ डाँगीले भने, ‘सरकारले ३५ करोड लगानी गरेर स्थापना गरेको संस्था ६४ वर्षसम्म आफ्नै कमाइले धानिएको छ । कुल मूल्यांकन गर्ने हो भने अहिले ८० देखि १०० अर्बको सम्पत्ति छ । यो तथ्य बिर्सेर निगम घाटामा गयो भन्न कसरी मिल्छ ?’

यसअघिको व्यवस्थापनले निजीकरण गर्नका लागि गरेको अध्ययनमा निगमको सम्पत्ति ५४ अर्ब मूल्यांकन गरिएको थियो । कर्मचारीले कम मूल्यांकनविरुद्ध पनि आन्दोलन गरेका थिए ।

चालक र प्राविधिकहरूको अनुभवमा निगमको सुधार

निगमको नेतृत्व सम्हालेपछि युवराज अधिकारीले व्यवस्थापकीय सुधार सँगसँगै जहाज मर्मतको कामलाई उच्च महत्त्व दिएका छन् । निगमका जहाज नियमित मर्मत भइरहेका छन् । चरा ठोक्किएर जहाज ग्राउन्डेड हुनुबाहेक इन्जिनमा समस्या आएर ग्राउन्डेड भएका छैनन् ।

निगमको क्वालिटी एस्योरेन्स विभागका निर्देशक पोषक ज्ञवाली पछिल्लो समय जहाज मर्मतको कामलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँछन् । शेड्युल मेन्टिनेन्स (नियमित मर्मत)भन्दा अनशेड्युल (आकस्मिक मर्मत)का कारण जहाजहरू ग्राउन्डेड हुने समस्या आइरहेको उनले बताए । 

‘पछिल्लो तीन महिनामा मात्र बर्ड स्ट्राइक (चरा ठोक्किएर) बाट तीनपटक जहाज ग्राउन्डेड भयो । शेड्युल मर्मत नभई बर्ड हिटले गर्दा जहाज ग्राउन्डेट भयो । त्यसको असर फ्लाइट क्यान्सिल भयो,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘हामीकोमा सीमित जहाज छन्, सबै जहाजको शेड्युल हुन्छ । एउटा जहाजमा समस्या आउनेबित्तिकै सबै फ्लाइट डिले नगरी सुखै भएन, प्रशस्त जहाज हुने हो भने मात्र यस्तो बेला म्यानेज गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज रहेकोमा एउटा जहाज ग्राउन्डेड हुँदा निगमको २५ प्रतिशत हिस्सा ओगट्ने र समग्र उडान प्रभावित हुने गरेको उनले बताए ।

‘युवराज सर आएपछि अहिले इन्जिनीयरिङका काममा बढी नै फोकस गर्नुभएको छ । इन्जिनको मर्मत जहाज खरिदपछिको ठूलो प्रोजेक्ट हो, एयरलाइन्सको जीवनमा । यो एकदमै महंगो पनि हुन्छ, जुन अहिले समयमा भइरहेको छ,’ ज्ञवालीले भने, ‘तीनवटा इन्जिन मर्मत भइसकेको छ । आकस्मिक रूपमा ग्राउन्डेड हुने कुरा हाम्रो वशमा रहेन । शेड्युल मर्मतका कारण उडान तालिका प्रभावित हुँदैन ।’

निगमको अपरेसन डिपार्टमेन्टका निर्देशक समेत रहेका वरिष्ठ क्याप्टेन श्रवण रिजाल निगममा रहेको जनशक्तिलाई तालिम दिएर सक्षम बनाउने काम भइरहेको बताउँछन् ।

‘हामीसँग चेक पाइलट कोही पनि थिएन, अहिले ६ जना चेक पाइलट छन्, दुई ट्वीनअटरका लागि, दुई वाइडबडीका लागि र दुई न्यारोबडीका लागि । ३५३ को–क्याप्टेन पनि बने,’ रिजालले लोकान्तरसँग भने, ‘४ जना पाइलट लिएकोमा लामो समय तालिम हुन सकेको थिएन । पछिल्लो समयमा तालिमको काम पनि भइरहेको छ । हामीसँग भएको जनशक्तिबाट नै तालिमको काम गरेका छौं ।’

निगममा सीमित जनशक्ति भएपनि अन्तर्राष्ट्रिय स्तरका तालिम लिएर पाइलटलाई अपडेट गरिरहेको उनले बताए । ‘सरकारी संस्थान भएकाले कुनै पनि चिजका लागि म्यानेजमेन्टले अप्रुभल लिनुपर्ने हुन्छ । अहिलेको अध्यक्ष एयरलाइन्सबाटै हुर्केको व्यक्ति भएकाले पाइलटलाई तालिमको महत्त्व कति हुन्छ भन्ने उहाँले राम्रोसँग बुझ्नुभएको छ । म्यानेजमेन्टबाट गर्नुपर्ने कुनै पनि काम अड्किएको छैन,’ क्याप्टेन रिजालले भने । क्याप्टेन रिजालले हालैमात्र इजरायलबाट नेपालीको उद्धारको कामको नेतृत्व गरेका थिए । 

जहाजका सीट खाली, टिकट लुकाएर बेचिएकाले आएको समस्या हो ? 

दशैंको समयमा हङकङ–काठमाडौं उडानमा नेपाल वायु सेवा निगमको जहाज खाली सीट लिएर आएको चर्चा चल्यो । यदाकदा आन्तरिक उडानमा पनि जहाजको सीट खाली हुने तर यात्रुले टिकट नपाउने गरेको गुनासो सुनिन्छ । निगमका अधिकारीहरू भने टिकट बिक्रीमा कुनै जालसाजी सम्भव नभएको बताउँछन् । 

निगमको कमर्सिलय डिपार्टमेन्टका निर्देशक टंकनिधि दाहाल अनलाइन टिकटिङ सिस्टममा कसैले टिकट नपाउने या ब्लक गर्ने सम्भावना नरहने बताउँछन् । ‘कसैले टिकट नपाउने या ब्लक गर्ने भन्ने हुँदैन । सिस्टमले जुन फेयर देखाउँछ, यात्रुले त्यसैमा टिकट पाउँछन् । हङकङको केसमा टिकट नपाएर नआउने अवस्था होइन,’ दाहालले लोकान्तरसँग भने, ‘आन्तरिकको कुरा गर्दा ट्वीनअटरमा १९ सीट भने पनि अधिकतम १७ जनासम्म मात्र यात्रु राख्ने गरिएको छ । १७ औं नम्बरको यात्रुले के भन्छ भने टिकट लिन यति महाभारत भयो, भित्र त सीट खाली छ !’

उनका अनुसार पहाडी जिल्लामा अधिकतम १७ जना यात्रुलाई मात्र चढाउन मिल्छ । जहाजको सन्तुलन मिलाउन खाली राखिएको सीट देखाएर टिकट नबेचेको भनी यात्रुहरूले गुनासो गर्ने गरेको दाहालले बताए । अन्तर्राष्ट्रिय उडानमा ८० प्रतिशतको हाराहारीमा टिकट बिक्री भएको दाहालले बताए । टिकटिङमा लामो समयदेखिको सिस्टम छाड्दा केही समस्या भए पनि अहिले कुनै समस्या नरहेको उनले बताए । 

‘नयाँ व्यवस्थापन आएपछि कतिपय सिस्टम अपडेटका कुरा गरेका छौं, पहिला बिग्रेको भए पनि त्यो कामलाई अहिले ट्रयाकमा ल्याइएको छ,’ दाहालले भने । 

निगमको कस्टुमर सर्भिस डिपार्टमेन्टकी डाइरेक्टर रिना राई दुर्गमका जिल्लामा हुने उडानमा यात्रुले टिकट नपाएको गुनासो सुन्नुपरेको बताउँछिन् ।

प्रविधि र मौसमका कारणले १९ सीटको जहाजमा १९ जना नै यात्रु चढाउन नमिल्ने भएकाले यस्तो गुनासो आउने गरेको उनको भनाइ छ ।

‘जस्तो कि ताप्लेजुङमा सधैं १३ जना यात्रु लैजान सकिन्न, मौसम बिग्रियो भने इन्धन धेरै हाल्नु पर्ने भएकाले १२ जना मात्र पनि लैजानुपर्ने बाध्यता हुन्छ । दुर्गम क्षेत्रका उडानमा अन्तिममा मानिस आउँछन्, कसैको अत्यावश्यक हुन्छ, त्यस्ता यात्रुलाई अन्तिम समयमा चढाएका हुन्छौं । कहिलेकाहीँ बोर्डिङ पास लिएका यात्रुलाई पनि झार्नुपर्ने अवस्था आउँछ,’ राईले लोकान्तरसँग भनिन्, ‘१३ औं नम्बरको प्यासेन्जरलाई हामी चान्स प्यासेन्जर भन्छौं । झार्नु पर्दा कन्फर्म प्यासेन्जर नभई चान्स प्यासेन्जरलाई झार्नुपर्छ । कतिजना त चान्स टिकट लिएर पनि उडेका हुन्छन् । झार्नुपर्ने अवस्थामा चान्स प्यासेन्जरलाई नै झार्ने हो ।’

त्यसरी झारिएकाहरूले गुनासो गर्ने गरेको उनको भनाइ छ । कतिपय अवस्थामा त यस्तो गुनासो मन्त्रीसम्मै पुग्ने गरेको उनले सुनाइन् । 

‘सबैले जरुरी परेरै यात्रा गर्ने हो, कुनै यात्रुलाई फर्काउने हाम्रो पनि चाहना हुँदैन । तर, प्राविधिक कारणले धेरै तेल हाल्नुपर्ने अवस्थामा तौल मिलाउन यात्रु झार्नु हाम्रो बाध्यता हो,’ राईले थपिन् ।

प्रत्येक यात्रुलाई विमानस्थलमा निगमका कर्मचारीले राम्रो व्यवहार गरिरहेको र अहिले गुनासो सुन्नु नपरेको उनले बताइन् ।

‘मन्त्रीज्यू र युवराज सरले इन्स्ट्रक्सन दिनुभएको छ । युवराज सर आफैं पनि छड्के आइरहनुहुन्छ । यात्रुसँग राम्रो बोल्न, हँसिलो अनुहार र नम्र स्वभाव देखाउन भनेर निर्देशन दिनुहुन्छ,’ राईले भनिन् ।   

राईले अन्तर्राष्ट्रिय उडानबाट आएका लगेज फुट्ने गुनासो अहिले कम भएको बताइन् । 

null

दैनिक ५५ अन्तर्राष्ट्रिय उडानको ‘ग्राउन्ड ह्यान्डलिङ’को काम

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानका अतिरिक्त निगमले अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम पनि गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ निगमको अतिरिक्त कमाइको स्रोत पनि हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीका लागि विमानस्थलभित्र गर्नुपर्ने सम्पूर्ण काम निगमले नै गर्दै आएको छ । 

निगमको ग्राउन्ड सपोर्ट डिपार्टमेन्टका निर्देशक डोलेश्वर कोइरालाका अनुसार अहिले दैनिक ५० देखि ६० वटा उडानको व्यवस्थापन भइरहेको छ । कुनै दिन ५० देखि कुनै दिन ६० हाराहारीमा उडान (एउटा जहाजको अवतरण र उडानलाई २ उडान गनिन्छ) हुने गरेकोमा औसतमा ५५ हाराहारीका विमानको काम निगमले गरिरहेको छ । सन् २०१८ मा कोभिड महामारी शुरू हुनुभन्दा अगाडिको तुलनामा अहिले अन्तर्राष्ट्रिय उडानको संख्या बढेको छ । 

ग्राउन्ड ह्यान्डलिङअन्तर्गत जहाज पार्किङदेखि लगेज व्यवस्थापनसम्मका काम पर्दछन् । ‘ग्राउन्ड ह्यान्डलिङमा अहिले स्थायी र करारका गरी ७ सय हाराहारीमा कर्मचारी छन् । यस्तै आउट सोर्सका कर्मचारीको संख्या पनि ४ सयभन्दा बढी छ । सर्भिस आउट सोर्समा पनि केही संख्यामा कर्मचारी छन्,’ कोइरालाले लोकान्तरसँग भने, ‘यति धेरै अन्तर्राष्ट्रिय उडानका लागि यो संख्या कम हो । कर्मचारी अभावको रिफ्लेक्सन स्वरूप कहिलेकाहीँ एयरलाइन्सको कम्प्लेन आइरहेको हुन्छ ।’

यसअघि निगमकै एमडीले एयरपोर्टमा ४ सयभन्दा बढी कर्मचारी चाहिँदैन भनेर भनेको कुरा स्मरण गर्दै उनले भने– ‘निजी क्षेत्रका कम्पनीको तुलना गरेर कर्मचारी धेरै भए भन्ने कुरा उहाँले गर्नुभएको थियो, तर यहाँको वास्तविकता अर्कै छ । हिमालय एयरलाइन्सको पनि ग्राउन्ड ह्यान्डलिङको काम हामीले गरिरहेका छौं । विमानस्थलमा हुने ८० प्रतिशत काम हामीले गरिदिएका हुन्छौं ।’

null

‘...अनि वाइडबडी पूर्ण क्षमतामा चल्छ र निगमले नाफा कमाउँछ’

पूर्ण सरकारी स्वामित्वको संस्था भएकाले निगमले जहाज खरिददेखि मर्मत र उपकरण खरिद गर्दा सार्वजनिक खरिद नियमावलीले तोकेका शर्त पालना गर्नुपर्छ । व्यवसायमा निजी क्षेत्रका विमानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपनि निगमले खरिद र मर्मतका लागि सार्वजनिक खरिद नियमावलीको व्यवस्थाभन्दा बाहिर जान मिल्दैन ।

२०७६ फागुन ८ गते निगम सञ्चालक समितिको बैठकले वायुयान, इन्जिन, भूमिस्थ उपकरण खरिद, मर्मतसम्भार तथा वायुयान सञ्चालनसँग सम्बन्धित खरिद कार्यविधि सम्बन्धमा सहजीकरणका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएको थियो । 

पछिल्लो पटक २०८० कात्तिक १३ गते सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६७ उपदफा (१) को खण्ड (ग) र (च) बमोजिम खरिद प्रयोजनार्थ सोही ऐनको दफा ६७ को उपदफा ३ अनुसार सहमतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पुनः अनुरोध गरेको छ । 

यो व्यवस्था भएमा निगमले अत्यावश्यकीय उपकरण खरिद र जहाजको मर्मतसम्भारको काम तत्काल गर्न सक्ने निगम अधिकारीहरूको भनाइ छ । सार्वजनिक खरिद ऐनको गाँठो फुकाउन पर्यटन मन्त्रालयले पनि चासो दिनुपर्ने निगमका कर्मचारीहरू बताउँछन् । 

‘अहिले हामीले शुरू गरेका र गर्न लागेका काम निष्कर्षमा पुग्दा निगमको अवस्थामा धेरै सुधार आउने छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘निगम सुधारको यो अभियानलाई हामी पूरा गरेरै छाड्छौं ।’

अस्ट्रेलियाको सिड्नी, कोरिया र कोलम्बो उडानले निगमाका दुई वाइडबडी पूर्ण क्षमतामा चल्नेछन् । ‘नयाँ क्षेत्रमा शुरू गर्न लागिएको उडानले वाइडबडीको युटिलाइजेसन पूर्ण हुनेछ, जसले निगमको इन्कम पनि रिमार्केबल हुन्छ,’ निर्देशक दाहालले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x