
काठमाडौँ -नेपाली पात्रो अनुसार सोमवार परेको महाशिवरात्री पर्वको दिनमा पशुपति क्षेत्रलाई पूर्णतः गाँजामुक्त बनाइने भएको छ । शनिवार पशुपति क्षेत्र विकास कोष परिषद् सदस्य घनश्याम उपाध्यायले शिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको र यसपटकदेखि पशुपति क्षेत्रलाई गाँजामुक्त बनाउने प्रतिवद्धता गरिएको जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषका लेखा अधिकृत समेत रहेका प्रवक्ता प्रेमहरी ढुंगानाले शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समेत परिचालन गर्न लागिएको जानकारी दिए । 'सुरक्षाको व्यवस्थासँगै ५ हजार भन्दा बढी स्वयंसेवक परिचालन हुनेछन,' ढुंगानाले भने, 'यसका साथै डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको स्वास्थ्यशिविर रहनेछ ।'
भक्तजन र दर्शनार्थीको सुविधाका लागि ४ ठाउँमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको ढुंगानाले बताए । कैलाशमुनी, भुवनेश्वरी नजिक, बज्रघर र राममन्दिर नजिक जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको हो ।

ढुंगानाले साधु सन्तका लागि निशुल्क भोजन, पानी, चियापान र बसोबास समेतको व्यवस्था मिलाइएको जानकारी दिए । 'साधुसन्तका लागि चिसोबाट बच्न धुनी समेतको व्यवस्था मिलाइएको छ,' ढुंगानाले भने, 'महाशिवरात्रीको पर्सिपल्ट प्रतिपदाका दिन बाटो खर्चसहित साधुसन्त र जोगीबाबाहरूलाई विदाई गर्ने व्यवस्था पनि पशुपति क्षेत्र विकास कोषले गरेको छ ।' हालसम्म ४ हजार साधुसन्त र जोगीबाबा आइसकेका छन् ।
महाशिवरात्री पर्वको व्यवस्थापनमा करीब ५४ लाख खर्च हुने अनुमान गरिएको जानकारी ढुंगानाले दिए । उनका अनुसार यसपाली कसैलाई पनि पासको व्यवस्था गरिएको छैन ।