
पाकिस्तान- पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे वर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जनौं नागरिक घाइते भएका आइतवार पाकिस्तानी अधिकारीले जनाएका छन् ।
बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्राप्त जानकारी अनुसार वर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण कतिपय होचोस्थानमा रहेका वस्तीहरूमा डुबान भएको छ भने कतिपय घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका र उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ ।
बाढीका कारण कैयौं सडक तथा रेलका लिकहरू डुवानमा पर्दा यातायात सेवा समेत अवरूद्ध बनेका छन् ।
बस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौंको सङ्ख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुबान हुनसक्ने चेतावनी दिएपछि कैयौं वस्तीका जनतालाई सुरक्षित स्थलतर्फ सारिएको छ ।