१२ साउन २०८३, मंगलबार

सम्हालिँदै रविन्द्रपत्नी विद्या, भन्छिन्- 'पतिको सपना पूरा गर्न लागिपर्छु'

फागुन २१, २०७५
सम्हालिँदै रविन्द्रपत्नी विद्या, भन्छिन्- 'पतिको सपना पूरा गर्न लागिपर्छु'
फाइल फोटो

पोखरा - हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले थालनी गरेका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताएका छन् ।

निधनको सातौं दिन मंगलवार स्वर्गीय अधिकारीकै मालेपाटनस्थित निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलिसभामा विभिन्न नेताहरूले उनको योगदान स्मरण गर्दै परिवारलाई समवदेना दिए  । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको आयोजनामा भएको श्राद्धाञ्जलि सभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकीका इन्चार्ज पृथ्बीसुब्बा गुरुङले स्वर्गीय अधिकारीले विद्यार्थी आन्दोलनदेखि संसदीय भूमिका र मुलुकको समृद्धिको लागि खेलेको भूमिका अविस्मरणीय रहेको बताए । ‘उहाँले विद्यार्थी कालदेखि संसदीय राजनीतिमा विकास र समृद्धिको लागि खेलेको भूमिका अविस्मरणीय छ,’ उनले भने, 'उहाँले चाहेको विकास,समृद्धिको सपना पूरा गर्न सरकार र पार्टी लागि पर्ने छ ।’

गुरुङले पार्टीले एक होनाहार र विकास प्रेमी युवा नेता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय अधिकारीको परिवारलाई आश्वासन दिँदै पार्टी र सरकार अधिकारीको घरपरिवारसँगै रहेको बताए।

श्रद्धाञ्जलि सभामा बोल्दै स्वर्गीय अधिकारी धर्मपत्नी विद्या भट्टराईले आफ्ना पतिले देखेको विकास र समृद्धिको सपना पूरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘उहाँले देख्नुभएको विकास र समृद्धिको सपना पूरा गर्न सधैं लागिरहने छु,’ भट्टराइले भनिन् ।

शुक्रवार स्व. मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएपछि उनको निवासमा विभिन्न क्षेत्रका अगुवा तथा राजनीतिसँग जोडिएका व्यक्तिहरूले अधिकारीसँगका स्मृतिहरूलाई सार्वजनिक गरेर श्रद्धाञ्जलि दिएका थिए । 

सोमवार नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले रविन्द्र अधिकारीको निधनले पुर्‍याएको क्षतिलाई कुनै शब्दमा उल्लेख गर्न नसकिने उल्लेख गर्दै शोकलाई शक्तिमा बदल्न परिवारलाई आग्रह गरेका थिए ।  
त्यस्तै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले अधिकारीकी धर्मपत्नी विद्या भट्टराई र छोरा स्वराजसँग कुराकानी गर्दै उनले शोकाकूल सबै परिवारजनलाई समवेदना प्रकट गरेका थिए । 

समवेदना र श्रद्धाञ्जली दिन दैनिक हजारौं घरमा आएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए । उनले दैनिक १० हजारभन्दा बढी श्रद्धाञ्जलि दिन आएको बताए । धेरैले विकास प्रेमी नेताका रूपमा अधिकारीको स्मरण गर्दै निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको बताएका छन् । 

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा यहि फल्गुन १५ गते मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । मन्त्री अधिकारीको इच्छाअनुसार उनको काजकिरिया भिन्न किसिमबाट गरिएको थियो । जन्म र मृत्युको संस्कारलाई समयानुकूल बनाउनुपर्छ भन्ने अधिकारीको सोच र इच्छा नुसार उनको परिवारले ७ दिनमा काजकिरिया सकेको हो ।

salt training

कमेन्ट गर्नुहोस्