
पोखरा- पर्वतमा निर्माणाधीन तल्लो मोदी आयोजनामा आगलागी भएको छ ।
विद्युत सर्ट भएर आगलागी हुँदा तीन मजदुर घाइते भएका छन् । आयोजनामा सोमवार दिउँसो पेनस्टक पाइप (सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने)मा रङ लगाउने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको आयोजनाले जनाएको छ ।
२० मेगावाटको निर्माणाधीन तल्लोमोदी जलविद्युत आयोजनामा उत्पादनको मुखमै आएर आगलागी भएको छ । आयोजनाको सुरुङ मार्ग भित्र पाइपमा रङ लगाउने क्रममा अकस्मात आगलागी हुन पाइपमा रंग लगाउदै गरेका ३ जना मजदुर घाइते भएका हुन् ।
घाइते हुनेमा विजय पचभैया, अनिल विक र चन्दनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।
आयोजनामा कार्यरत कर्मचारी गोविन्द केसीका अनुसार ३ सय २७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउने क्रममा विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।
आयोजनामा विद्युतीय तार सर्ट भएर आगलागी हुँदा पाइप भित्र लगाएको सबै रङ जलेर नष्ट भएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । ‘पाइप भित्र लगाइएको रंग जलेर नष्ट भएको छ तर, पाइप फलामको भएकोले पाइपलाई असर गर्दैन,' उनले भने, ‘पाइपको भित्री भागमा लगाइएको रङ र विद्युतको तार मात्रै जलेको हो ।’
आगलागी भएको स्थानमा पाइपभित्रबाट धुवाँको मुस्लो निस्किरहेकोले क्षतिको विवरण आउन नसकेको आयोजना प्रमुख यादवले बताए । आगोको मुस्लो पावरहाउसमा जडित डाइनामो र अन्य उपकरणसम्म समेत फैलिएको थियो । पावरहाउसका उपकरणमा भने क्षति नभएको उनले बताए ।
आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । आयोजनामा लागेको आगो नियन्त्रणमा लिन डिएसपी भुवनेश्वर तिवारी सहितका जनपथ प्रहरी, सशस्त्र प्रहरी, सेना, आयोजनाका कर्मचारी र कुश्मा नगरपालिकाको दमकलको लामो प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो ।