११ साउन २०८३, सोमबार

बहाना होली, चाहना फिल्म प्रमोसन !

चैत ६, २०७५
बहाना होली, चाहना फिल्म प्रमोसन !

काठमाडौं -काठमाडौंमा आयोजित होली विशेष कार्यक्रममा फिल्मकर्मीहरूको बाक्लो भीड देखियो । उनीहरू कार्यक्रममा पुगेर आफ्नो प्रस्तुति दिनुका साथै फिल्मको प्रचारप्रसारमा व्यस्त रहे ।

जसमध्ये एक थियो बानेश्वरमा रेडियो अडियो र दाल भात तरकारी फिल्म युनिटको होली विशेष कार्यक्रम ।

एकैछिन कार्यक्रमतिर लागौं ।

अभिनेता दीपकराज गिरी स्टेजमा एक गीतमा नृत्य गर्दै थिए ।

‘फिल्म दाल भात तरकारी’ कहिले आउँदै छ रे ?’ नृत्य गर्नासाथ उनले फिल्मबारे भने ।

फिल्म युनिटले कार्यक्रम आयोजना गरेको हुनाले दीपकले सो फिल्मबारे बोल्नु करै थियो ।

‘त्यो भन्दा अगाडि वैशाख १३ मा ‘छक्का पञ्जा २’ आउँदैछ’– दीपकले आफ्नो फिल्मको पनि प्रचारप्रसार गरिहाले । 

दीपकको ‘छक्का पञ्जा २’ वैशाखमा पुनः प्रदर्शनमा आउँदैछ ।

स्टेजमा चढ्नासाथ अभिनेता भुवन केसीले फिल्म दाल भात तरकारीकै कुरा गरे । उनले आफ्नो फिल्मको पनि प्रचार पनि गर्न भ्याए ।

‘फिल्म दाल भात तरकारी कहिलेदेखि लाग्दैछ ?’ दर्शकको उत्तरपछि भुवनले थपे, ‘अनि अहिले हलमा कुन फिल्म लागिरहेको छ ?’

भुवनको निर्माण रहेको फिल्म ‘क्याप्टेन’ अहिले हलमा प्रदर्शनरत छ ।

अभिनेता सलिनमान बानिया स्टेजमा चढ्नासाथ वैशाख २० गतेबाट फिल्म दालभात तरकारी प्रदर्शनमा आउने बताउँदै फिल्म हेर्नका लागि दर्शकलाई आग्रह गरे ।

‘हाम्रो यात्रा फिल्म यही चैत २९ गतेबाट आउँदैछ,’ सलिनले आफ्नो फिल्मबारे भने, ‘फिल्म निकै राम्रो बनेको छ । सबैले हेर्नुहोला ।’ 

फिल्म युनिटसित उपस्थित सलिमले गीतमा नृत्य गरे ।

कार्यक्रममा फिल्म दाल भात तरकारीको त प्रमोसन भइहाल्यो । प्रदर्शनको क्रममा रहेका आधा दर्जनभन्दा बढी फिल्मको समेत प्रमोसन गरियो । 

हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पुष्प खड्का लगायतले स्टेजमा रहँदाको अधिकांश समय फिल्म दाल भात तरकारीकै प्रमोसनमा खर्चिए ।

त्यस्तै होली विशेष कार्यक्रममा चैत १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शुभलभ’का कलाकार हरिहर अधिकारी, कृष्टिन पौडेल, सूर्या थापा लगायत पनि कार्यक्रममा उपस्थित रहे र फिल्मको प्रचारप्रसार गरे ।

सोही मितिमा लाग्ने फिल्म ‘साँइली’ का कलाकार दयाहाङ राईदेखि मेनुका प्रधानसम्म कार्यक्रममा पुगेर फिल्मको प्रचार गरे ।

पछिल्लो वर्ष राजधानीमा आयोजना गरिने होली विशेष कार्यक्रम फिल्म प्रमोसनको गतिलो थलो बन्ने गरेका छन् ।

मासमा उपस्थित भएर होलीको शुभकामना दिँदै फिल्मबारे केही बोलिदिँदा दर्शकमा फिल्मको छाप पर्ने फिल्मकर्मीहरूको विश्वास छ ।

दर्शकहरू पनि पर्दामा देखेका कलाकारहरूलाई प्रत्यक्ष देख्न पाउँदा रमाउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्