२२ असार २०८३, सोमबार

तराई-मधेसमा आज होली : जनकपुरमा भोलि, प्रदेश दुईमा २ दिन बिदा

चैत ७, २०७५
काठमाडौं
तराई-मधेसमा आज होली : जनकपुरमा भोलि, प्रदेश दुईमा २ दिन बिदा

काठमाडौं– समानता र निष्छलताको पर्व होली तराई–मधेसमा बिहीबार हर्षोल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित देशका हिमाली र पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिन्छ । तर, जनकपुरमा भने शुक्रबार होली मनाइँदैछ ।

सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । तराईमा पनि होली पर्व एकआपसमा रंग लगाएर र शुभकामना साटासाट गरेर मनाइन्छ । होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।

फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।  ‘होलिका दहन’को दिन राति गाउँ टोलका मानिसहरु परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गर्दछन् । ‘होलिका दहन’ भइसकेपछि होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन् । 

तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।

हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । 

१५ दिने मिथिला माध्यमिकी  परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरमा होली मनाउने परम्परा छ । बिहीबार अन्तरगृह परिक्रम सकिएपछि शुक्रबार होली मनाइने छ । 

यसैबीच, होलीका अवसरमा प्रदेश दुई सरकारले २ दिन सार्वजनिक बिदा दिएको छ । बिहीबार र शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिथिला–मधेशमा हुने मध्यमा परिक्रमा र होलीलाई मध्यनजर गर्दै दुई दिन बिदा दिइएको हो । विज्ञप्ति मार्फत मुख्यमन्त्री राउतले होली पर्वलाई शान्तिपूर्ण तरिकाले उल्लासका साथ मनाउन प्रदेशवासीमा आह्वान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्