
गान्धीनगर– भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिएका छन् ।
भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिवार आफ्नो उम्मेदवारी दर्ता गराएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अध्यक्ष शाह अहिले राज्यसभा सदस्य हुन् । उनले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिएका हुन् ।
शाहले उम्मेदवारी दिएको गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ठ नेता लालकृष्ण आडवाणीले निर्वाचन जितेका थिए ।
गृहमन्त्री राजनाथ सिंह, पञ्जाबका पूर्व मुख्यमन्त्री प्रकाशसिंह बादल, यातायात मन्त्री नितिन गड्करी, शिवसेना प्रमुख उद्धव ठाकरे, लोक जनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र भाजपाका राष्ट्रिय महासचिव राम लाललगायतको उपस्थितिमा उनले उम्मेदवारी दर्ता गराएको भाजपाका सचिव महेन्द्र पाण्डेले जानकारी दिए ।
उम्मेदवारी दर्ता गर्नुअघि उनले अहमदावादको नारायणपुरमा आयोजित वृहत चुनावी र्यालीलाई सम्बोधन गरेका थिए ।
भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ ।
Photo : Hindustan