
काठमाडौं- ज्योतिष विद्याका 'हट केक' हुन्- हरिहर अधिकारी । ज्योतिषीहरूको भीडमा हरिहरको छुट्टै नाम छ, पहिचान छ । स्टाइलिस छन्, फ्यान फलोइङ टन्नै छ ।
आममानिसको चिना हेरेर नाम र दाम कमाएका युवा ज्योतिषी हरिहर अहिले आफ्नो परिचय र पहिचानलाई फिजाउँदै छन् ।
हरिहर फिल्मका नायक पनि हुन् । उनी अभिनित फिल्म ‘शुभ लभ’ देशभर प्रदर्शनरत छ ।
फिल्मले कस्तो प्रतिक्रिया पाइरहेको छ? फिल्ममा के-कस्ता कमीकमजोरीहरू भए ? नायक हरिहरलाई नै यी प्रश्न तेर्स्याइयो ।
हरिहरले हलमा उल्लेखनीय दर्शकको उपस्थिति नरहेको स्वीकारे, तर हेरेका दर्शकले फिल्मलाई मन पराएको बताए ।
हलमा दर्शकको उपस्थिति न्यून हुनुमा फिल्मको प्रचारप्रसार कम भएको हरिहरको बुझाइ छ ।
लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘नयाँ कलाकारहरू हुँदा त अझ सुटिङदेखि नै पब्लिसिटीलाई व्यापक बनाउनुपर्ने हो । त्यसमा हामी चुक्यौं ।’
अन्य प्राविधिक कुराहरूमा फिल्म चुकेको हरिहरले बताए । ‘बलियो टीम भएको भए फिल्म धेरै राम्रो बन्थ्यो,’ हरिहरले यत्ति भने ।
कमजोरीकै सन्दर्भमा फिल्मको कथा र आफ्नो अभिनयबाहेक अरू आफ्नो वशमा नरहेको हरिहरले बताए ।
डेब्यू नायक हरिहरले पहिलो फिल्मबाट आफूले बुझेको फिल्म क्षेत्रको अवस्थाबारे समेत बताए ।
हरिहरले हाँस्दै भने, ‘फिल्म क्षेत्र त राजनीति जस्तो रहेछ ।’
किन ?
‘दर्शक तान्नका लागि विभिन्न ठाउँमा पुग्नुपर्ने, सबैलाई नमस्कार गर्दै फिल्म हेर्ने आग्रह गर्नुपर्ने, फेमिलियर हुनुपर्ने, केही सञ्चारकर्मीहरूलाई पैसा खुवाउनुपर्ने,’ हरिहर थप्छन्, 'त्यसपछाडि भनेको कुन–कुन हलमा फिल्म चलाउने, कति शो दिने इत्यादि कुरामा ठूलो गेम हुँदो रहेछ ।’
विविध कारणले नयाँ निर्माता, नयाँ निर्देशक, नयाँ अभिनेता र अभिनेत्रीलाई माथि उठ्न गाह्रो हुने अनुभव उनले सुनाए ।
पछुतो छैन !
धेरै फिल्मकर्मी हरिहरलाई हेराएर फिल्मको शुभमुहूर्त, गीत, ट्रेलर, फिल्म रिलिजको समय तोक्छन् ।
यसरी फिल्मकर्मीमाझ पनि छुट्टै पहिचान बनाएका छन्, हरिहरले । उनलाई प्रश्न सोधियो, 'ज्योतिष क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको मानिस अहिले फिल्म खेलिसकेपछि पछुतो त लागेको छैन ?
‘बिल्कुलै छैन,’ उनी भन्छन्, ‘फिल्मबाट मैले धेरै कुराहरूको अनुभव गर्ने मौका पाएँ ।’
‘फिल्म टीमवर्क रहेछ, धेरै जनासँग काम गर्दा म्यानेजमेन्ट बुझिँदोरहेछ । प्रमोशनमा हिँड्दा लिडरशिप क्वालिटी बढ्दो रहेछ’– हरिहर सुनाउँछन् ।
नयाँ कलाकारहरूमा केही कमीकमजोरी हुनु भने स्वाभाविक रहेको उनको भनाइ छ ।

हरिहर ज्योतिषी हुनाले फिल्म प्रदर्शनमा आउनुअघि उनलाई अर्को एउटा प्रश्न धेरै सोधियो – ‘तपाईंको फिल्म चल्छ कि चल्दैन ?’
हरिहर आफूले फिल्म चल्ने, नचल्ने कहिल्यै नभनेको बताउँछन् ।
‘मैले तपाईंको फिल्म हिट हुन्छ, फ्लप हुन्छ भन्दै हिँडेको त छैन नि !' उनी प्रस्ट्याउँछन्, 'मैले यो मितिमा शुभमुहूर्त गर्दा राम्रो हुन्छ । यो मितिमा रिलिज गर्दा राम्रो हुन्छ । त्यो समयमा कुनै हानी नोक्सानी हुँदैन, एक्सिडेन्ट हुँदैन भन्ने हो ।’ तर मानिसहरूमा यस्ता कुराहरूमा भ्रम रहेको हरिहरले बताए ।
खोलामा पौडिसकें !
'शुभ लभ'मा हरिहर वास्तविक जीवनमा जस्तै ज्योतिषीको भूमिकामा प्रस्तुत छन् ।
आउँदा दिनमा अन्य फिल्ममा पनि अभिनय गर्ने हरिहरको योजना छ । ‘वर्षमा ८ महिना चिना हेर्छु । बाँकी ४ महिना रेष्टको समयमा फिल्म गर्छु,’ हरिहर भन्छन्, ‘तर फिल्मको कथा सभ्य र टीम राम्रो हुनुपर्यो ।’
उनी फिल्मले आफ्नो कामलाई असर नगर्ने बताउँछन् । भन्छन्, ‘मानिसले सधै काम त गर्दैन नि, उसलाई रेष्ट पनि चाहिन्छ । मैले रेष्ट लिने समय फिल्मलाई दिन्छु ।’
हरिहर नेपाली फिल्मको कमजोरी कथामा देख्छन्, साथै फिल्मको ग्रेड छुट्याउनु आवश्यक ठान्छन् ।