२३ असार २०८३, मंगलबार

वित्तीय सूचक निराशाजनक : १३ खर्बको राष्ट्रिय बजेट हुँदा पौनै ९ खर्ब व्यापार घाटा

बैशाख ४, २०७६
वित्तीय सूचक निराशाजनक : १३ खर्बको राष्ट्रिय बजेट हुँदा पौनै ९ खर्ब व्यापार घाटा

काठमाडौं – १३ खर्बको राष्ट्रिय बजेट रहेको नेपालमा झण्डै बजेटकै हाराहारीमा व्यापार घाटा पुगेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) सम्ममा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब नाघिसकेको छ ।

चालू आर्थिक वर्षको वार्षिक बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ १६ करोड १७ लाख रुपैयाँ छ ।

चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ५ प्रतिशतले भएको वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी लगानीमा गिरावट

चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा समेत गिरावट आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ को तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा गिरावट आएको हो । 

आर्थिक वर्ष २०७४/०७५ को साउन गतेदेखि चैत १५ गतेसम्म  वैदेशिक लगानी ३५ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबर आएको उद्योग विभागको तथ्यांक छ । चालू आर्थिक वर्षको हालसम्म ११ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।

चालू खाता र शोधान्तर स्थिति घाटामा

चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा भित्रिने रकम र बाहिरिने रकमबीचको अन्तर (शोधान्तर स्थिति) ५८ अर्ब ९९ करोड रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँ शोधान्तर स्थिति ऋणात्मक थियो ।

सो अवधिमा चालू खाता घाटा समेत १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सो घाटा १ खर्ब ५४ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स बढ्यो

चालू आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाहमा २३ दशमलव ४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

विकास खर्च एकतिहाइ

बजेटमा छुट्याइएको विकास खर्चमध्ये एकतिहाइ मात्रै भएको छ । चालू आर्थिक वर्षको मंगलवारसम्मको विवरण अनुसार विकास खर्च ३४ दशलमव ९१ प्रतिशत मात्रै भएको छ । ३ खर्ब १३ अर्ब ९९ करोड विकास खर्चमध्ये मंगलवारसम्म १ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

चालू आर्थिक वर्षमा बजेटको ४७ दशमलव ५० प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेश गरेका थिए । त्यसमध्ये ६ खर्ब २४ अर्ब ७० करोड २० लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्