
बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपलमा स्वागत गरे ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो ।
त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो । राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो ।
यसैबीच राष्ट्रपति भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेट भएको छ ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताइएको छ ।
भेटमा चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए ।








