
ललितपुर - ललितपुर महानगरपालिकाले टेलिफोन तथा मोबाइल महसूलमा मात्र गत आर्थिक वर्ष २०७४/०७५ मा झण्डै २० लाख खर्च गर्यो । चालू आर्थिक वर्ष २०७५/०७६ मा उक्त शीर्षकको अनुमानित बजेट ३५ लाख रुपैयाँ छ ।
महानगरको वार्षिक नगर विकास योजनामा उल्लेख भएअनुसार अघिल्लो आर्थिक वर्षमा अनुमानित महसूल करीब १३ लाख रहेकोमा खर्च २० लाख पुगेको थियो, त्यसैले चालू आर्थिक वर्षमा समेत खर्च अनुमानित रकमभन्दा बढ्न पनि सक्ने देखिन्छ ।
महानगरले कार्यालय टेलिफोन महसूलका लागि भनेर १० लाख, मोबाइल महसूलका लागि १० लाख र जनप्रतिनिधिका लागि १५ लाख खर्च हुने अनुमान गरेको छ ।
हेर्नुहोस्, प्रतिवेदनमा के छ ?

महानगरपालिकाले गत आर्थिक वर्षमा मोबाइल महसूलमा ९ लाख ९९ हजार ९५० रुपैयाँ खर्च गरेको देखिन्छ ।
टेलिफोन महसूलमा ९ लाख ९९ हजार ३८२ रुपैयाँ खर्च भएको छ । यसका साथै वडा कार्यालयतर्फ टेलिफोनमा २ हजार ९ सय १२ रुपैयाँ खर्च भएको नगर विकास योजनामा उल्लेख छ ।
मोबाइल तथा टेलिफोनमा महानगरपालिकाले खर्च गरेको रकम जोड्ने हो भने २० लाख २ हजार २ सय ४४ रुपैयाँ पुग्छ ।
महानगरले दैनिक भ्रमण भत्ता, खाजा भत्ता र बैठक भत्ताबाहेक मोबाइल खर्चका लागि समेत मोटो रकम खर्च गर्ने गरेको छ ।
कार्यालयमा भएका टेलिफोन सुविधाको अतिरिक्त महानगरले निर्वाचित पदाधिकारीहरू मेयरलाई मासिक ३ हजार, उपमेयरलाई मासिक १५ सय, वडाध्यक्षलाई मासिक १ हजार रुपैयाँ मोबाइल महसूलबापत खर्च उपलब्ध गराउँदै आएको छ ।
वडासदस्यलाई मासिक ५ सय र नगर कार्यपालिका सदस्यलाई मासिक १ हजार मोबाइल शुल्क उपलब्ध गराउने व्यवस्था गरेको महानगरपालिकाका लेखा प्रमुख दामोदर थापाले जानकारी दिए ।
इन्टरनेटमा गत आवमा २५ लाख, चालूमा ६० लाख !
वार्षिक नगर विकास योजनामा उल्लेख भएअनुसार गत आर्थिक वर्षमा इन्टरनेटमा मात्र २४ लाख ९९ हजार ६८७ रुपैयाँ खर्च भएको छ ।
इन्टरनेटका लागि चालू आर्थिक वर्षको अनुमानित बजेट ६० लाख रुपैयाँ छ ।