
काठमाडौं – बुधवार अन्तर्राष्ट्रिय मजदुर दिवस । सबै सरकारी, संस्थान र कतिपय निजी क्षेत्रमा काम गर्ने मजदुरलाई सार्वजनिक बिदा छ ।
काठमाडौंको नैकापस्थित इँटाभट्टामा काम गरिरहेका ४५ वर्षीय अनुप कुशुवारलाई पनि थाहा छ आज मजदुर दिवस हो । उनले सुनेका छन् – आज मजदुरहरूले मजदुर दिवस मनाउँछन् रे !
तर उनलाई थाहा छैन कि मजदुर दिवस कसरी मनाउँछन् ? कहिलेकाहीँ अरुले कार्यक्रममा जाऊ भनेर गएको उनलाई याद छ । तर त्यहाँ कसले के भाषण गरे उनलाई केही थाहा छैन ।
अनुपले भने, ‘आज पनि मजदुर दिवस रे ! तर आफूलाई त आफ्नै कामको पेलाइ छ कसरी दिवस मनाउनु ?’

दिउँसोको १२ बजेको टन्टलापुर घाम लागेको छ । घामतिर हेर्दा आँखा खुम्च्याएर हेर्नुपर्ने अवस्था छ । घामले गर्दा काम गर्न नसकेर इँटा मजदुर अनुप कुशवार रुखको छहारीमा बसिरहेका थिए । सर्लाही कुर्मायाका ४५ वर्षीय अनुप गत वर्ष कात्तिकदेखि इँटाभट्टामा काम गर्न परिवारसहित आएका रहेछन् । पत्नी, २ छोरा र १ छोरीसहित अनुपको परिवार सानो कच्ची इँटाको घरमा बस्ने र उद्योगको लागि इँटा बनाउने काम गर्छ ।
अनुपका २ छोरा १५ र १२ वर्षका भएका छन् । गाउँमा स्कूल पठाउँदा पनि उनीहरूले पढ्न मानेनन् । केही वर्षदेखि छोराले पनि इँटा बनाउने काम गर्ने गरेको उनले बताए । ‘पत्नीसहित छोराहरूले समेत इँटा बनाउँदा धेरै संख्यामा इँटा बनाउन सकिन्छ,’ उनले भने । उनकी सानी छोरी जम्मा ७ वर्षकी छन् । ‘छोरीलाई पढाउनुपर्ने हो तर के गर्नु घर एक्लै छोड्न पनि सकिएन । यहाँ पढाउने ठाउँ छैन,’ अनुपले भने ।
‘कात्तिकदेखि अहिलेसम्म काम गर्दा २ लाखभन्दा बढी इँटा बनाएर साहुलाई बुझाइसक्यौं । अब ३५ हजार जति होला । जेठमा घर जाने बेलासम्म त ५० हजार जति पु¥याउँछौं होला,’ सर्लाहीको कर्मायाका अनुपले भने । यसपालि वर्षा भएकाले ३०–३५ हजार इँटा बिग्रिएर ठूलो घाटा भएको उनले गुनासो गरे ।

इँटाभट्टा सञ्चालकको लागि काम गर्दा घाटा कसरी लाग्यो ? अनुपले भने, ‘हामीले इँटा बनाएर संख्याको आधारमा मात्रै पैसा पाउँछौं, बिग्रिएको इँटाको कुनै हिसाब नै हुँदैन । इँटा बिग्रिँदा १ महिनाभन्दा धेरै दिनको काम बर्बाद भयो ।’
अनुप आमाको गर्भमै छँदा उनको बाबुको मृत्यु भयो । ३ दाजुभाइ र १ दिदीका उनी कान्छा भाइ हुन् । ‘भएको ७–८ कट्ठा खेत दाइको नाममा छ । उनका ६ छोरालाई बाँडिदिएका छन्, मैले र माइला दाइले पाएका छैनौं । जग्गा नभएर मेरो घर पनि ऐलानी जग्गामा छ,’ अनुपले गुनासो गरे, ‘बा भइदिएको भए त अरुलाई भन्दा मलाई बरु बढी दिन्थे होलान् । दाइले त कत्ति पनि नदिने भए ।’
१४ वर्षदेखि २० वर्षसम्म गाउँमा नै साहुको घरमा हरुवा बसेका थिए अनुप । हरुवा बस्न छोडेपछि ठेक्कामा खेती गर्ने र गिट्टी कुट्ने काम गरे उनले । त्यो कामले मात्रै उनको परिवारलाई साँझबिहान हातमुख जोर्न निकै धौ–धौ भयो । ‘५ वर्षदेखि यता बर्खेखेती गर्ने कामबाहेक इँटा बनाउने काम गरेका छौं । अहिले ३ कोठाको घर पनि बनाएको छु । अर्को वर्षसम्म त ५ कोठा बनाउने हो । प्लास्टर पनि गर्नुपर्ला,’ अनुपले मुसुक्क हाँसेर भने ।

‘खेती गर्ने कामभन्दा इँट्टा बनाउने काम अलि सजिलो हुन्छ, पैसा पनि एकमुष्ट पाइन्छ । अहिले घरमै आएर १ लाख ५० हजार रुपैयाँ दिएका थिए । त्यो पैसाले घर बनाउन सजिलो भयो । घर जाने बेलासम्म अझै १ लाख जति पाउने गरी काम हुन्छ होला । एउटा इँटा बनाएर दिँदा साहुले जम्मा १ रुपैयाँ दिन्छन् । गत वर्षसम्म त १ हजार इँटाको ८ सय रुपैयाँमा काम गरेको हो । अर्को सिजनमा पक्कै पनि साहुले पैसा बढाउँछन्,’ अनुपले आशा व्यक्त गरे ।
‘साँझ ७–८ बजे नै खाना खाएर सुत्छौं । राति १–२ बजेतिर उठेर इँटा बनाउन शुरू गर्छौं । बिहान १०–११ बजेसम्म इँटा बनाउँछौं । दिउँसो घाममा काम गर्र्न सकिँदैन । घाममा माटो पनि छिटो सुक्ने भएर रातिमा काम गर्दा सजिलो हुन्छ । दिउँसोमा इँटा सुकाउने पल्टाउने काम गरेर बस्छौं । भाग्यले साथ दिएर धन्न रोग लागेर सुत्नुप¥या छैन,’ अनुपले भने, ‘गरीब भएर हजुर सानैदेखि पढ्न पाइएन । ठूलो र सजिलो काम गर्ने त नसिबमै भएन, यस्तै छ हजुर इँटा जिन्दगी ।’