
पोखरा- र्याफ्टिङ विश्वकपमा भाग लिन अस्ट्रेलिया जान लागेको नेपाली टोलीलाई पोखराका पर्यटन व्यवसायीले बिदाइ गरेका छन् । अस्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा ४ दिनसम्म सञ्चालन हुने विश्वकपमा नेपालीले खेलाडीले पनि सहभागिता जनाउनेछन् ।
अन्तराष्ट्रिय र्याफ्टिङ महासंघको आयोजनामा मे १६ देखि १९ सम्म दक्षिण अस्ट्रेलियामा क्वीन्स वर्ल्डकप च्याम्पियनसिप प्रतियोगिता हुनेछ । विश्वकपमा सहभागी हुने टीमलाई शनिवार गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी र पर्यटनसँग आवद्ध रेवान पोखरा तथा पोखरा पर्यटन परिषद्का पदाधिकारीहरूले बिदाइ गरेका हुन् ।
प्रतियोगितामा भाग लिनका लागि सुरज गुरुङको कप्तानीमा सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया जाँदै छन् । नेपाली टीम प्रशिक्षकका रूपमा नेपाल एजेन्सीज र्याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगर रहेका छन् ।
प्रशिक्षक मगरले नेपाली टोलीले ४ वटा टीम इभेन्टमा सहभागिता जनाउने जानकारी दिए । उनले दुई वर्ष अगाडि जापानमा भएको प्रतियोगितामा नेपालले १३ औं स्थान हासिल गरेको बताउँदै यस पटक नेपालले पदक जित्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा सहभागी हुनका लागि करीब ३४ लाख लाग्ने खर्च लाग्ने भएपनि सरकारले कुनै सहयोग नगरेको उनले बताए । ‘विभिन्न गाउँपालिका र संघ सस्थाबाट करीब १४ लाख रुपैयाँ संकलन गरेका छौं,’ उनले भने, ‘अन्य रकम उठाउने क्रममै छौं।’
अध्यक्ष मगरले केन्द्र सरकार र नेपाल पर्यटन बोर्डले कुनैपनि सहयोग नगरेको गुनासो गरे । प्रतियोगीहरू राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका थिए । विगत दुई महिनादेखि सेती नदीमा उनीहरूले अभ्यास गरेका थिए ।