२१ असार २०८३, आइतबार

निजी शिक्षालय पनि सामाजिक सुरक्षा कार्यक्रममा सामेल हुँदै

निजी शिक्षालय पनि सामाजिक सुरक्षा कार्यक्रममा सामेल हुँदै

काठमाडौँ–सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन निजी क्षेत्रका शिक्षण संस्थाले तयारी शुरु गरेका छन् ।

निजी विद्यालयका छाता संस्थाहरु ‘उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ’ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन)ले नेपाल सरकारसँग संवादका साथै आन्तरिक गृहकार्य शुरु गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले औद्योगिक क्षेत्र र प्रतिष्ठानका प्रतिनिधि संस्थाका नेतृत्वलाई झै निजी शिक्षण संस्थाका नेतृत्वलाई पनि आमन्त्रण गरी उक्त कार्यक्रममा सहभागी हुन चरणबद्ध छलफल गर्दै आएका छन् । 

 मन्त्री विष्टसँग आज प्याब्सन नेतृत्वको सिंहदरबारमा छलफल भएको थियो । प्याब्सनले सरकारको कार्यक्रमलाई सकारात्मक मान्दै क्रमशः सहभागी हुने तर साना र आर्थिकरुपमा कमजोर विद्यालयका लागि विशेष व्यवस्था गर्न माग गरेको छ । कार्यक्रमअन्तर्गत रोजगारदाताले २० प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने, “सहभागी हुन सक्ने हैसियत भएका निजी विद्यालय तत्काल यसमा सहभागी हुनेछन् । नसक्नेका लागि विभिन्न विकल्प दिन हामीले प्रस्ताव गरेका छौँ ।” विशिष्ट र ‘क’ श्रेणीका निजी विद्यालयले यस कार्यक्रममा सहजै सहभागिता जनाउनेछन् भने कमजोर विद्यालयका लागि के गर्ने भन्नेबारे छलफल भइरहेको छ । कमजोर विद्यालयका लागि १० प्रतिशत विद्यालय तथा १० प्रतिशत सरकारले जम्मा गर्ने वा उनीहरुलाई सूचीकरणको समयावधि थप्नेबारेमा विकल्प सुझाइएको अध्यक्ष पुरीले बताए । मन्त्री विष्टले सुझाव सुनेपछि थप छलफल गरेर यही असार मसान्तभित्र निष्कर्षमा पुग्न आग्रह गरेका थिए ।

हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरु आबद्ध विद्यालयलाई सरकारको उक्त कार्यक्रममा सहभागी हुन भनिसकेको जानकारी दिए । 
हाल ३५ हजार ५५ विद्यालयमध्ये छ हजार २०६ निजी विद्यालय रहेको सरकारी आँकडा छ । निजी विद्यालय सञ्चालकले मन्टेश्वरीदेखि उच्चशिक्षासम्म करीब आठ हजार निजी शिक्षण संस्था रहेको र तिनमा करीब डेढ लाख शिक्षक, कर्मचारी कार्यरत रहेको जनाउँदै आएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्