
काठमाडौं– भारत लगायत विदेशी मुलुकबाट आयात हुने तरकारी तथा फलफूल विषादी परीक्षणपछि मात्र भित्रिन दिने सरकारी निर्णय स्थगित भएको छ ।
बिहीवार बसेको मन्त्री परिषद् बैठकले तत्कालका लागि विषादी परीक्षण स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीको सचिवालयले लोकान्तरलाई जानकारी दियो ।
यद्यपि साताभरी बसेका मन्त्रिपरिषद्का निर्णयहरू बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने व्यवस्था गरिएकाले औपचारिक रूपमा सार्वजनिक हुन भने बाँकी छ ।
यही असार ३ गते मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशबाट आयात हुने तरकारी तथा फूल विषादी परिषणपछि मात्रै आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
उक्त निर्देशनपछि भारतबाट तरकारी बोकेर भित्रिने सवारी साधनहरू भन्सार नाकामै रोकिएका थिए ।
यसबीचमा निकै सक्रिय भएको भारतीय दूतावासले निर्णय फिर्ता लिन दबाब बढाएको आसयका समाचारहरू समेत सार्वजनिक भएका थिए । अन्ततः सरकार उक्त निर्णयबाट पछि हटेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले भने निर्णयबारे अनविज्ञता प्रकट गरे ।
‘तरकारी आयातमा समस्या भएको बारेमा छलफल भएको भन्नेसम्म थाहा छ,’ उनले लोकान्तरसँग भने, ‘ठ्याक्कै के निर्णय भयो भन्ने थाहा छैन ।’
निर्णय औपचारिक रूपमा कार्यान्वयनमा भने आइसकेको छैन । शुक्रवार दिउँसोसम्म पनि भैरहवा नाकामा तरकारीका ट्रकहरू रोकिएका छन् ।