कपिल शर्मा र सुनील ग्रोवरबीच भएको झगडाले कपिलको व्यक्तित्वमा नै प्रश्चिन्ह खडा भएको छ ।
विवादले यति उग्र रुप लिएको छ कि सुनीलका साथै कार्यक्रमका अन्य सदस्यले पनि कपिलको साथ छोड्ने बताइसकेका छन् । कपिल बारे भारतीय सञ्चार माध्यम र फिल्म बजारमासमेत चर्चा हुन थालेपछि अभिनेता सलमान खानले उनलाई सल्लाह दिएका छन् ।
सलमान र कपिलको सम्बन्ध राम्रो छ र आफ्नो फिल्मको प्रोमोशनका लागि सलमान धेरैजसो कपिलको कार्यक्रममा जाने गरेका छन् । एक अन्तर्वार्तामा सलमानले कपिललाई सम्बोधन गर्दै आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सल्लाह दिएका हुन् ।
सलमानले कुराकानीको क्रममा आफू करियरको त्यस्तो स्थितीमा पुगेको जहाँ मानिसहरुले हो मा हो मिलाउने भएकाले आफू सहि दिशामा गएको हो वा होइन भनेर निर्णय गर्न नसकिने स्थिती पैदा हुने गरेको बताए ।
त्यसकारण उनी आफ्नो परिवार र साथीको कुरामा निकै ध्यान दिने बताए । उनले ती मानिसहरुले नै आफूलाई हावामा उड्न नदिनेसमेत बताएका छन् ।