२७ असार २०८३, शनिबार

बाढी र हावाहुरीले कृषि क्षेत्र तहसनहस, मन्त्रालयमा आउँदै क्षतिको आँकडा

असार ३१, २०७६
बाढी र हावाहुरीले कृषि क्षेत्र तहसनहस, मन्त्रालयमा आउँदै क्षतिको आँकडा
फाइल फोटो

काठमाडौं – गत बिहीवारदेखि शुरू भएको वर्षासँगै आएको बाढीका कारण १ नम्बर प्रदेशमा कृषि तथा पशुपन्छीतर्फ करीब १ अर्ब रुपैयाँको नोक्सानी भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रदेशमा मात्रै ८१ करोड ५४ लाख रुपैयाँ बराबरको नोक्सान भएको आँकडा प्राप्त भएको छ । 

मन्त्रालयका अनुसार प्रदेशमा कृषिबालीतर्फ ८१ करोड २८ लाख ९२ हजार रुपैयाँ र पशुपन्छीतर्फ २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कृषि र पशुपन्छी गरी दुवैतर्फ ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा २ हजार ४ सय ४६ घरधुरमा कृषि तथा पशुपन्छीतर्फ क्षति भएको मन्त्रालयले जनाएको छ । क्षति पुग्ने मुख्य कृषिबाली मकै, तरकारी, चैते धान, बर्खे धान, अलैची तथा पशुपन्छीतर्फ कुखुरा, कुखुराका चल्ला, गाई, बंगुर लगायत रहेको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा कृषि तथा पशुपन्छीतर्फ नोक्सान भएपनि १ नम्बर प्रदेशको मात्रै विवरण आइपुगेको बताएको छ । 

मन्त्रालयले सबैभन्दा बढी क्षति प्रदेश २ भएको आकलन गरेपनि प्रदेशको यकिन विवरण संकलनका क्रममा रहेको जनाएको छ । ३ नम्बर प्रदेश र गण्डकी प्रदेशमा समेत कृषि तथा पशुपन्छीतर्फ क्षति भएको र विवरण आइनपुगेको मन्त्रालयले जनाएको छ ।

गण्डकीले पठायो हावाहुरीको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै प्रदेशलाई बाढीबाट भएको क्षतिको विवरण माग गर्दै पत्राचार गरेको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत सबै प्रदेशसँग बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण माग गर्दै पत्राचार गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले बताए । ‘सबै प्रदेशको विवरण प्राप्त हुन सकेको छैन,’ उनले भने, ‘संघीय मन्त्रालयमार्फत पत्राचार गर्दै क्षतिको विवरण मागेका थियौं । प्रदेशले विवरण संकलनको क्रममा रहेकाले सबैको आइपुगेको छैन ।’

गण्डकी प्रदेशले यसअघि नै आएको हावाहुरीबाट भएको क्षतिको विवरण पठाएको छ । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दूर्गाप्रसाद दवाडीले हस्ताक्षर गरेको पत्रमा २०७५ असोजदेखि २०७६ जेठसम्ममा भएको क्षतिको राहत उपलब्ध गराइदिन माग गरिएको छ ।

असार २७ गते संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको पत्रमा आर्थिक वर्ष २०७५/७६ भित्र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण र आवश्यक राहत उपलब्ध गराइदिन उल्लेख गरिएको छ । पत्रअनुसार गण्डकी प्रदेशमा ७४ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्