२० असार २०८३, शनिबार
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

जयशंकरले नेपाली जनतासामु माफी माग्नुपर्छ : अशोक मेहता

भदौ ४, २०७६
जयशंकरले नेपाली जनतासामु माफी माग्नुपर्छ : अशोक मेहता

काठमाडौं – भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाल मामिलाका जानकार अशोक मेहताले भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली जनतासामु माफी माग्नुपर्ने बताएका छन् । 

बुधवार लोकान्तरसँग कुरा गर्दै मेहताले जयशंकरले नेपाल भ्रमणलाई नेपाली जनताको मन जित्ने अवसरका रूपमा लिनुपर्ने बताएका हुन् ।

‘कुनै पत्रकार सम्मेलन, कुनै सम्बोधन वा त्यस्तो केही कार्यक्रम आयोजना गरेर २०१५ मा नेपालमाथि भारतले गरेको नाकाबन्दी गलत थियो भनेर माफी माग्नुपर्छ,’ मेहताले भने, ‘त्यतिबेला जे भयो, त्यतिबेला गलत भयो । म दुःख प्रकट गर्छु र आइन्दा त्यस्तो हुन दिन्न भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।’

जयशंकरले माग्ने माफीले त्यतिबेलाको घाउमा मल्हम लगाउने काम गर्ने मेहताले बताए । ‘एकैपटकमा जनतासँग राम्रो सम्बन्ध बनाउन मुश्किल छ,’ उनले भने, ‘तर प्रयास शुरू गर्नुपर्छ ।’ 

मेहताले भारत नेपालको सम्बन्धलाई अझ अगाडि बढाउन जयशंकरले भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । ‘यसलाई अझ अघि बढाउन पुरा कोसिस गर्नेछन् भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘भारत सरकारले नेपालमा ओली सरकार बनेपछि नयाँ दिशामा आफ्नो नीति तय गरेको थियो । त्यो नयाँ नीतिलाई अघि बढाउन जयशंकरले मद्दत गर्नेछन् ।’ 

मेहताले त्यतिबेलाको नाकाबन्दी जयशंकरले नलगाएको स्पष्ट पारेका छन् । ‘त्यतिबेला नाकाबन्दी जुन भयो, त्यो जयशंकरले गरेको होइन,’ उनले भने, ‘त्यो भारत सरकारले गरेको हो । नेपाली जनताले पनि यसलाई व्यक्तिगत रूपमा लिनु पर्दैन । भारत सरकारले काठमाडौंमा गएर यस्तो यस्तो भन भनेर पठाएको हो ।’

लोकान्तरसँगको कुराकानीमा मेहताले पटक–पटक जयशंकरले नेपाली जनताको मन जित्न केही सुखद शुरूवात गर्नुपर्ने बताए ।

‘नेपाली जनताको सेन्टिमेन्ट जयशंकर विरोधी रहेको देखिन्छ,’ उनले भने, ‘जयशंकरले यो भ्रमणलाई नेपाली जनताको मन जित्ने अवसरका रूपमा सदुपयोग गर्नुपर्ने छ । उनले नेपाली जनताको मन जित्ने शुरूवात गर्नुपर्छ । यो भ्रमणमा नाकाबन्दीबाट पीडित नेपाली जनतासमक्ष उनले दुःख प्रकट गरेनन् र माफी मागेनन् भने सम्बन्ध छिट्टै सुमधुर हुँदैन ।’

विदेशमन्त्री जयशंकर बुधवारबाट नेपालको २ दिने भ्रमणमा रहेका छन् । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर बुधवार अपराह्न नेपाल आएका हुन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।

बंगलादेशको ३ दिने भ्रमणमा सकेर जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् । विदेशमन्त्री स्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नेछन् । ३ वर्षपछि हुन लागेको नेपाल–भारत संयुक्त आयोगको बैठक बुधवारदेखि राजधानीमा शुरू हुँदैछ ।

बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकन हुने र सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्