
जुम्ला – शिक्षाको आधारभूत तहलाई विशेष ध्यान दिएर तातोपानी गाउँपालिका जुम्लाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ ।
गाउँपालिकाले हिमशिर मावि तातोपानी जुम्लामा शुक्रवारदेखि ५ दिने कार्यशाला सञ्चालन गरेको हो ।
मूलतः गाउँपालिकाको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न र शिक्षकलाई उनीहरुको पेशाप्रति जिम्मेवार बनाउन अभ्यासमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
‘पछिल्लो समयमा ग्रामीण भेकका निजी, सामुदायिक तथा सरकारी विद्यालयको शैक्षिकस्तर खस्किँदै जाँदा स्थानीय सरकारले अपेक्षा गरेको प्रतिफल प्राप्त हुन सकेको छैन,’ अध्यक्ष न्यौपानेले भने, ‘त्यसैले गाउँपालिकाले विगतभन्दा वर्तमान सुहाउँदो क्रियाकलापमा आधारित शिक्षण सिकाइमा बढी जोड दिएको हो ।’ कार्यशालाले २ सय ५० शिक्षकलाई शैक्षिक रुपान्तरणका अभियन्ताका लागि उत्प्रेरित गर्ने उनको विश्वास थियो ।
प्रशिक्षक अर्जुन भट्टले परम्परागत पट्यार लाग्दो शिक्षण सिकाइलाई विस्थापित तथा नवितम् शिक्षण विधिलाई स्थापित गर्ने कार्यशालाको मूल उद्देश्य रहेको बताए । ‘परम्परात शिक्षण सिकाइ साँघुरा कोठा र निराशित शिक्षकको मृत्यु भइसक्यो,’ प्रशिक्षक भट्टले भने ।
कार्यशालामा सहभागी शिक्षिका धनलक्ष्मी शाहीले पहिलो दिनमै शिक्षकलाई नयाँ ऊर्जा मिलेको बताइन् । ‘कार्यशालाले घोकाउने र बालबालिकालाई दबाब दिएर पढाउने अहिलेसम्मको शिक्षण विधिलाई पूर्णरुपले निरुत्साहित गरेको छ,’ शिक्षिका शाहीले भनिन् ।
हिमशिखर मावि तातोपानी जुम्लाका प्रधानाध्यापक राजु केसीले खिया लागेको शिक्षणविधि र ऊर्जा सकिएको शिक्षकमा यस कार्यशालाले निखारता ल्याउने विश्वास व्यक्त गरे । शिक्षण शैलीमा नयाँपन दिन पहिलो ३ दिनमा १ सय ५१ आधारभूत तहका शिक्षकको सहभागी रहेको र दोस्रो चरणमा २ दिनसम्म मावि तहका शिक्षकका लागि कार्यशाला सञ्चालन गरिने प्रधानाध्यापक केसीले जनाए ।