२० असार २०८३, शनिबार

सुदूर र कर्णालीको संस्कृति झल्किने एकल नृत्य साँझ काठमाडौंमा हुँदै, ‘हिमाल देउडा रत्न’ घोषणा

सुदूर र कर्णालीको संस्कृति झल्किने एकल नृत्य साँझ काठमाडौंमा हुँदै, ‘हिमाल देउडा रत्न’ घोषणा

काठमाडौं – सुदूरपश्चिम र कर्णाली प्रदेशका संस्कृति झल्किने गरी बुधवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नृत्य निर्देशक देवु वोराको एकल नृत्य साँझ आयोजना हुने भएको छ ।

हिमाल डेन्टल हस्पिटल काठमाडौंको आयोजनामा लोक नृत्यको प्रचारप्रसारका लागि नृत्य साँझ आयोजना गरिएको हो ।

हस्पिटलका अध्यक्ष डा. राजेन्द्र भट्टले साँझ ४ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा नृत्य साँझ आयोजना गरिएको बताए । ‘सुदूरपश्चिमका चम्किला प्रतिभा नृत्य निर्देशक देवु वोराको एकल नृत्य साँझको आयोजना गरिएको छ । पुर्ख्यौली थलो बैतडी भएपनि धनगढीमा जन्मे–हुर्केका कलाकार बोराको जीवन संघर्ष र प्रेरणादायी छ । उनी काठमाडौंमा बसेर नाच सिकाउँछन्, कोरियोग्राफी गर्छन्,’ अध्यक्ष भट्टद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘कार्यक्रममा उनी एक दर्जनभन्दा बढी गीतमा नाच्नेछन् । उनका अन्य शिष्यहरूले पनि नृत्यमा साथ दिनेछन् । विभिन्न जातजातिको पहिरनमा सजिएर उनले प्रतिभा पस्कने छन् ।’

स्वास्थ्य क्षेत्रमा क्रियाशील भएपनि हिमाल डेन्टल हस्पिटलले संस्कृतिको जगेर्नाका लागि नृत्य साँझ आयोजना गरेको अध्यक्ष भट्टले बताए । डा. भट्ट गीतकार समेत हुन् । उनले ‘झल्क झल्क झल्क हिमाल, कर्मभूमि जहाँ भएनि जन्मभूमि हो मेरो पश्चिम नेपाल’ लगायतका गीत लेखेका छन् । गीत, संगीत र संस्कृतिप्रति लगाव भएका भट्टले आफ्नो संस्थाको लगानीमा नृत्य साँझ आयोजना गरेका हुन् ।

नृत्य साँझमा प्रवेश निःशुल्क रहेको र सबैले सहभागिता जनाइदिन आग्रह गरिएको छ । कार्यक्रममा १६ नृत्य प्रस्तुत हुने नृत्य निर्देशक देवु वोराले बताए । उनका अनुसार ठाडी, छलिया, हुड्क्यौली, थारु सोह्र सिँगार, मध्यपश्चिमको सिँगार, धमाली, चञ्चल, बेली, क्लासिकल र आधुनिक छलिया लगायतका नृत्य प्रस्तुत हुनेछन् । ‘नृत्यमा मौलिक पहिरन र शैली देख्न पाइने छ,’ उनले भने ।

लुकेर रहेका प्रतिभालाई उजागर गर्दै सम्मान गर्न हिमाल डेन्टल हस्पिटलले ५० हजार रुपैयाँ राशीको पुरस्कार समेत घोषणा गरेको छ । ‘हरेक वर्ष पुरस्कार राशी बढाउँदै लैजाने योजना छ,’ अध्यक्ष भट्टले भने, ‘चर्चामा रहेका र स्थापित भइसकेका अनुहारभन्दा पनि लुकेर चर्चामा नआएका प्रतिभालाई सम्मान गर्ने सोचका छौं ।’

नृत्य निर्देशक वोरा निकै संघर्षशील भएर संस्कृति संरक्षणमा लागिरहेका संस्कृतिप्रेमी हेमन्त विवशले बताए । ‘उहाँले गुरु विना नै नृत्य सिक्नुभएको छ, नृत्यका नयाँ–नयाँ शैलीमा अभ्यास गर्नुहुन्छ,’ उनले भने, ‘उहाँले जोखिमयुक्त ठानिने मैनवत्ति नाच समेत देखाउनुहुनेछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्