११ असार २०८३, बिहीबार
चिनियाँ राष्ट्रपतिको भ्रमण

शी चिनफिङको नेपाल भ्रमणले ल्याएको तरंग

असोज २४, २०७६
शी चिनफिङको नेपाल भ्रमणले ल्याएको तरंग

चिनियाँ राष्ट्रप्रमुख शी चिनफिङको नेपाल भ्रमणबारे यतिबेला अनेकौं कोणबाट बहस सिर्जना भएको छ । नेपालले चीनको भूमिकालाई सदैव सकारात्मक ढंगबाट हेर्दै आएको छ । नेपाल–चीन सम्बन्ध युगौं पुरानो हो । विगत हेर्दा पनि चीन–नेपाल सम्बन्धको इतिहासमा भृकुटीदेखि अरनिकोसम्मको विशेष योगदान रहेको छ ।

चीन र नेपाल भूधरातलीय रूपमा नजिकको छिमेकी भएतापनि सम्बन्धका हिसाबले अर्को छिमेकी राष्ट्र भारतसँगको जस्तो उतारचढावपूर्ण छैन । चीनको संस्कार, संस्कृति एवं भाषा र लिपिबारे नेपालीहरू अनभिज्ञ नै छन् । परिणामस्वरूप चिनियाँ समाजमा हुने घटनाक्रमबारे नेपालीहरूलाई बुझ्न कठिन छ । परन्तु चीनले अनेकौं कठिनाइ झेल्दै पछिल्लो समयमा गरेको अद्भुत विकासप्रति  नेपालीहरूको चासो दिनानुदिन बढ्दैछ ।

चीनले पनि नेपालमा स्थायित्वको विगतदेखि नै आवश्यकता महसूस गरिरहेको थियो । चीनले नेपालको स्थायित्वको आवश्यकता अनुभव गर्नुको प्रमुख विषय तिब्बतको पृथक्तावादी समस्या हो । त्यसकारण चीन सधैं नेपालबाट एक चीनप्रतिको प्रतिबद्धता दोहोर्‍याइरहन्छ । नेपाल हुन त एक चीनप्रति प्रतिबद्ध राष्ट्र हो तर नेपालमा संक्रमण लम्बिनु, विकास निर्माणमा उल्लेख्य प्रगति नहुनु लगायतका कारणले अविकसित र कमजोर नेपालले चीनको सुरक्षा चिन्तालाई सम्बोधन गर्न सक्दैन भन्ने चीनका नीति–निर्माताहरू महसूस गर्छन् ।

राष्ट्रपति शीको भ्रमणको मुख्य उद्देश्य नै चीनले एसियामा आफ्नो प्रभुत्व बढाउन चाहिरहेकाले हो । एसियाको शक्तिसम्पन्न राष्ट्र चीन अब एसियाभित्रका राष्ट्रहरूमा अर्थ तथा राजनीति दुवै क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउन खोजिरहेको छ ।

शीको भ्रमणबाट नेपाल सरकारले अहिलेको अवस्थामा भंयकर लाभ लिनमा जोड दिनु भन्दा पनि छिमेकीहरूबीच सुमधुर सम्बन्धको बारेमा ध्यान दिन जरूरी छ । निकै प्रतीक्षा गरिएको चिनियाँ महामहिम राष्ट्रपति शीको भ्रमण अहिलेको समयमा नेपालमा हुनु आफैंमा उपलब्धि हो ।  राष्ट्रपति शीको भ्रमणमा तातोपानी नाका पूर्ण सञ्चालन, रेल र तेलको बारेमा मूर्त सम्झौता हुन जरूरी देखिन्छ । परन्तु हाम्रो जस्तो विकासोन्मुख राष्ट्रका लागि राष्ट्रपति शीको भ्रमणबाट आर्थिक लाभ लिनेबारेमा धेरै अपेक्षा हुनु स्वाभाविक हो ।

२०७२ सालको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षति बेहोरेको नेपालमा चीनको महत्त्वपूर्ण सहयोग रहेको छ । चीनले नेपालको भौतिक संरचना निर्माणमा विगतदेखि वर्तमान समयसम्म उल्लेखनीय काम गरिरहेको छ । अहिले चीनको सहयोगमा निर्माण हुँदै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत थुप्रै परियोजनाहरू सुचारु अवस्थामा काम भइरहेका छन् ।

ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने प्रस्ताव नेपालले राख्दै आएको थियो । नेपालको यस प्रस्तावलाई ‘एनेक्स’मा सूचीकृत गर्न चीन तयार भएसँगै अब यसलाई नेपालको प्रस्ताव मान्य भएको अर्थमा बुझ्न सकिन्छ । यसबाट अब नेपाल औपचारिक एवं ठोस प्रोजेक्टका साथ बीआरआईमा जोडिएको छ । अब नेपाल र चीन एक आपसमा झन् नजिक बनेका छन् ।

सयौं वर्ष रहस्यमा रहेको चीन, राष्ट्रपति शीको उदयपश्चात् विश्व जगतमा आशा, विश्वास र त्रासको सिर्जना भएको छ । वर्तमान चिनियाँ मोडल निर्माण गर्ने डा. सन यात सेन, माओ र देङ श्याओपिङको महत्त्वपूर्ण योगदान रहेको छ । मुख्यतः माओ र देङले अवलम्बन गरेको विचार नै आजको चीनमा शी चिनफिङ विचारधाराको रूपमा मर्ज भएर जन्म भएको छ । शी विचारधाराको राजनीतिक, आर्थिक र सामाजिक जग माओले गरेको क्रान्तिको निरन्तरताको नयाँ आयाम हो ।

नेपाली कांग्रेस चिनियाँ राष्ट्रपति शीको भ्रमणबाट किञ्चित् तरंगित हुन आवश्यक छैन । कांग्रेसले स्मरण गर्न आवश्यक छ– नेपालमा गान्धी, मन्डेलाका विचारबारे बहस हुँदा कम्युनिस्ट नेताहरूमा कुनै पनि प्रकारको तरंग देखिएको छैन । परन्तु यसपटक शी चिनफिङका विचारबारे नेपालमा बहस हँुदा कांग्रेस अत्तालिएको देखियो । लोकतान्त्रिक प्रणालीमा सबै विचारको बहस हुनु स्वाभाविक हो । तर यतिबेला कांग्रेस नेताहरू अनौठो प्रकारले आत्तिएको देखियो ।

राष्ट्रपति शीको नेपाल भ्रमणले स्वाभाविक रूपमा राजनीतिक क्षेत्रमा महत्त्वपुर्ण प्रभाव राख्छ । चीन सरकार र नेपाल सरकार अहिले वैचारिक रूपमा पनि एकै ठाउँमा छन् । चीनको आर्थिक रूप सफल भएको छ । अब चीनको ध्यान एसियाली मुलकहरूको अथाह सम्भावनालाई एकसाथ जोडेर २१औं शताब्दीलाई ‘एसियाली शताब्दी’का रूपमा प्रस्तुत गर्न चाहिरहेको छ । यस उद्देश्यलाई पूरा गर्न बीआरआईमार्फत सम्बन्ध नयाँ तरिकाले विस्तार गरिरहेको छ । यसका अलावा चीन अन्य क्षेत्रीय शक्तिराष्ट्रलाई उछिनेर एसिया महादेशमा पहिलो शक्ति हुने र आफ्नो क्षेत्रीय प्रभुत्व कायम राख्ने प्रतिस्पर्धामा छ ।

अहिले चीन र अमेरिकाबीच अर्थ क्षेत्रमा शीतयुद्ध चलिरहेको छ । चीनले गरेको आर्थिक उपलब्धि महशक्ति राष्ट्र अमेरिकालाई टाउको दुखाइको विषय बनेको छ । तीव्र आर्थिक उन्नतिका कारण वाशिङटन डीसीले बेइजिङलाई प्रमुख चुनौतीका रूपमा देख्ने गरेको छ ।

चिनियाँ प्रभावलाई कम गर्न एसियामा अमेरिकाको अगुवाइमा इन्डो–प्यासिफिक रणनीति अघि सारिएको  छ । अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गर्न भगिरथ प्रयत्न गरिरहेको छ । नेपालले इन्डो– प्यासिफिकको उद्देश्य कुनै पनि प्रकारको राजनीतिक स्वार्थ नभएको खण्डमा मात्र सम्बन्धबारे छलफल हुन सक्छ भन्दै आएको छ । यस्तो समयमा शीको भ्रमणको अर्थ विश्व राजनीतिमा ठूलै तरंगयुक्त हुनेछ ।

इन्डो–प्यासिफिकमा सहभागी राष्ट्र भारत नेपाललाई सधैं आफ्नो पोल्टामा राख्ने कोशिश गरिरहेको छ । भारत शीको नेपाल भ्रमण हुने विषयले तरंगित भएको छ । भ्रमणपश्चात् भने भारतसँगै युरोप र अमेरिका समेत तरंगित हुनेछन् । २०७२ सालको भूकम्पपछि भारतले नेपाल गरेको अघोषित नाकाबन्दीपश्चात् नेपालमा भारतको प्रभाव धेरै कम भएको छ । राष्ट्रपति शीको भ्रमणपश्चात् काठमाडौंमा दिल्लीको प्रभाव नगण्य हुनेछ । यस अवस्थामा दिल्लीले प्रयोग गर्ने कार्डले तुरुपको काम गर्ने छैन ।

पढ्नुहोस् यो पनि -

चिनियाँ राष्ट्रपति भ्रमणको भव्य तयारी भएकाे छ ः प्रधानमन्त्री ओली

नेपाल-चीन मैत्री सम्बन्ध : माओदेखि शीसम्म [तस्वीरमा]

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपिने विश्वास

चीन र नेपाल असल दाजुभाइ – शी जिनपिङ

संघर्षबाट खारिएका शी : यसरी बने चीनका शक्तिशाली राष्ट्रपति

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्