१९ असार २०८३, शुक्रबार

गुणस्तर सुधारसँगै अब्बल बन्दै सामुदायिक विद्यालय

कात्तिक २, २०७६
गुणस्तर सुधारसँगै अब्बल बन्दै सामुदायिक विद्यालय
प्रतिकात्मक तस्वीर

कञ्चनपुर – शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन् ।

कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन् ।

शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ विद्यार्थी सबै उत्तीर्ण भएका हुन् ।

विद्यालयमा कक्षा १२ मा भर्ना भएका ७८ मध्ये ६१ले रजिस्ट्रेसन फार्म भरेका थिए । तीमध्ये परीक्षामा सहभागी ५६ मात्रै भएका छन् । 

उत्तीर्ण भएकामध्ये नियमिततर्फ २५ र सवलीकरणमा अन्य परीक्षार्थी उत्तीर्ण भएका विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रबहादुर सिंहले बताए । ३ वर्षअघि आएको नयाँ विद्यालय व्यवस्थापन समितिको चुस्त व्यवस्थापन र शिक्षाको गुणस्तरका लागि खेलेको अथक प्रयासले सामुदायिक विद्यालयमध्ये यो विद्यालय अब्बल रहेको उनको भनाइ छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउँदले भने, ‘हामी आउनुभन्दा अगाडि विद्यालय पूरै कर्जामा थियो, ९ लाख रुपैयाँ बढी रकम तिर्नुपर्ने थियो, निजी स्रोतमा कार्यरत शिक्षक न्यून तलबमा काम गर्दै आएका थिए ।’ 

कर्जा पूरै तिरेर निजी स्रोतका शिक्षकको मनोबल बढाउन ६ हजार रुपैयाँमा काम गर्ने शिक्षकको तलब २३ हजार रुपैयाँ पुर्‍याइएको उनले बताए ।

‘पुस्तकालय, कम्प्युटरको व्यवस्थासँगै, विज्ञान प्रयोगशालाको व्यवस्थाले विद्यार्थी र शिक्षकको दक्षता बढेको छ,’ उनले भने । सबै कारोबार बैंकमार्फत गर्न लगाइएपछि फजुल खर्च रोक्न सकिएको उनको भनाइ छ । खानेपानीसँगै छात्रामैत्री शौचालय निर्माण भएपछि विद्यार्थी संख्यासमेत बढेको छ । 

विगतका वर्षमा विद्यालमा ४ सयको हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका थिए । हाल विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार आएपछि विद्यार्थी संख्या बढेर ६३२ पुगेको छ । विद्यालय भर्ना हुनेमा छात्रभन्दा छात्राको संख्या बढ्दो छ ।

‘सबै विषयका शिक्षक नहुँदा निकै समस्या थियो,’ अध्यक्ष साउँदले भने, ‘निजी स्रोतबाटै भएपनि पूरै विषयका शिक्षक राखेर पठनपाठनको व्यवस्था गर्न सकेका छौं, माध्यमिक तहमा पढ्ने विद्यार्थीले दिने शुल्कमा समेत १ हजार रुपैयाँ घटाएका छौं ।’

सोही नगरपालिकाको वडा नम्बर ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा समेत कक्षा ११ को परीक्षामा ३ दशमलव ४३ जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको संख्या ५ रहेको छ । कक्षा १२ मा समेत ३ दशमलव १६ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको संख्या १ रहेको छ ।

विद्यालयमा पठनपाठनका लागि जोड दिइएपछि निजीभन्दा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अब्बल हुन थालेका विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए ।

विद्यालयमा पढ्दै आएका विद्यार्थीको उत्तीर्ण संख्या ७५ प्रतिशत रहेको उनले जानकारी दिए । विगतमा उत्तीर्ण संख्या ४० प्रतिशतको हाराहारीमा रहँदै आएपनि हाल दक्ष शिक्षकसँगै पठनपाठनका लागि राम्रो वातावरण कार्य गरिएपछि विद्यार्थीको उत्र्तीण प्रतिशत बढ्दै जान थालेको उनले बताए ।

विगतमा विद्यालयमा कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतको व्यवस्थासँगै निजी स्रोतमा कार्यरत शिक्षकको मनोवल बढाउन स्थायी शिक्षकसरह तलबको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर साउँदले बताए । आवासीय विद्यार्थीका लागि छात्रवास निर्माण गर्ने विद्यालयको योजना छ । – राजेन्द्रप्रसाद पनेरु/रासस

salt training

कमेन्ट गर्नुहोस्