बुटवल – प्रदेश ५ सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्री, उपाध्यक्षमा भौतिक पूर्वाधार विकास मन्त्री र सदस्यमा प्रदेशका प्रमुख सचिव र मन्त्रालयका सचिवहरू रहेका छन् ।
प्राधिकरणले प्रदेशको पूर्वाधार विकासबारे योजना निर्माण, समीक्षा लगायतको काम गर्नेछ ।
बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि थप जग्गा आवश्यक परेकाले अस्पतालको आडैको इलाका वन कार्यालय रहेको क्षेत्रको जग्गा प्राप्तिका लागि संघीय सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
साथै बहुवर्षीय आयोजना स्वीकृति तथा ठेक्कासम्बन्धी मापदण्ड २०७६ पनि बैठकले स्वीकृत गरेको छ ।