२५ असार २०८३, बिहीबार

प्रतिवेदन तयार पार्दै सार्वजनिक तथा गुठी जग्गासम्बन्धी आयोग, अर्को साता प्रधानमन्त्रीलाई बुझाइने

मंसिर ८, २०७६
प्रतिवेदन तयार पार्दै सार्वजनिक तथा गुठी जग्गासम्बन्धी आयोग, अर्को साता प्रधानमन्त्रीलाई बुझाइने

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले अर्को साता प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने भएको छ ।

आयोगमा परेका अधिकांश उजुरी फर्छ्यौट गर्न बाँकी रहेपनि सरकारले दिएको समयसीमा सकिन लागेकाले भएको काम र परेका उजुरीहरूलाई समेटेर प्रतिवेदन बुझाउन लागिएको आयोगका अध्यक्ष मोहनरमण भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार आयोगले हालसम्म जम्मा ७ वटा उजुरीका सम्बन्धमा मात्र छानबिन प्रक्रिया टुंग्याएको छ ।

‘अर्को सातासम्म प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाउने तयारीमा जुटेका छौं,’ आयोगका अध्यक्ष भट्टराईले लोकान्तरसँग भने ।

सरकारी, सार्वजनिक र गुठी जग्गा मिचिएकोे वा अपचलन गरेकोसम्बन्धी आयोगको कार्यालयमा निवेदन आउने क्रम भने जारी छ ।

अहिलेसम्म आयोगको कार्यालयमा देशैभरीबाट १८० वटा निवेदन प्राप्त भएका छन् । उजुरी निवेदन धेरै प्राप्त भएतापनि अनुसन्धान गरेर पूर्णतामा पुग्न समय लागेको अध्यक्ष भट्टराईले बताए ।

‘निवेदन प्राप्त भइसकेपछि हामीले त्यो निवेदनले उठाएको सत्यता बुझ्नका लागि प्रमाण जुटाउनुपर्ने हुन्छ । मालपोत कार्यालयको स्रेस्ता र नापी कार्यालयको फिल्ड बूकको नक्कल पहिला हामीले झिकाउँछौं,’ अध्यक्ष भट्टराईले भने । 

मालपोत र नापीबाट प्राप्त कागजात पनि अपुग हुन जान्छ, त्यसपछि पुनः छुटफुट कागज मगाउँदा र प्राप्त हुन निकै समय लाग्ने गरेको छ ।

अहिले तयार हुन लागेका ७ वटा प्रतिवेदन सरकारी, सार्वजनिक र गुठी सबैको भएको अध्यक्ष भट्टराईले बताए ।

मालपोतका कागज भेटाउन नै गाह्रो

अहिलेसम्म आयोगको कार्यालयमा भेटिएका निवेदनमाथि सत्यतथ्य बुझ्न आयोगको कार्यालयले सम्बन्धित मालपोत र नापी कार्यालयमा पत्राचार गरेको छ ।

धेरै कागजात समयमा प्राप्त गर्न कठिन भएको साथै कतिपय कागजात नभेटिएको जवाफ आउने गरेको आयोगका अध्यक्ष भट्टराईले बताए । 

भट्टराईका अनुसार मालपोतको पुरानो श्रेष्ता प्राणालीका कारण कागजात कसरी कहाँ राखिएको छ भन्ने थाहा पाउन गाह्रो भएको छ ।

कागजात नभेटिएको जवाफ आएतापनि आयोगको कार्यालयले पुनः पटक–पटक ताकेता गरेर पत्र पठाउन भने छाडेको छैन् ।

सर्वसम्मत वा बहुमतबाट प्रतिवेदन पास हुने

आयोगले तयार गरेको प्रतिवेदन पहिला समितिमार्फत पास गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा सम्बन्धी जाँचबुझ आयोग ४ सदस्यीय रहेको छ ।

‘आयोगले तयार गरेको प्रतिवेदन सकेसम्म सर्वसम्मत प्रक्रियाद्धारा स्वीकृत गर्ने प्रयास हुन्छ, सर्वसम्मत प्रक्रियामार्फत स्वीकृत गर्न नसकिएमा बहुमत प्रकृयाद्धारा स्वीकृत गर्ने प्राणालीमा जाने कानूनी व्यवस्था छ,’ अध्यक्ष भट्टराईले भने ।

देशका अधिकांश ठाउँमा सरकारी, सार्वजनिक र गुठीसम्बन्धी जग्गामा विवाद देखिएपछि सरकारले यथार्थ छानबिनका लागि जेठ ६ गते मन्त्रिस्तरीय बैठकबाट आयोग बनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले आयोगको म्याद ६ महिनालाई निर्धारण गरेको थियो । कार्यप्रारम्भ भएको मितिले मंसिरको १५ गते आयोगको म्याद सकिँदैछ ।

सरकारले निश्चित गरेको समयको अन्तिम समयमा मात्रै थोरै काम सम्पादन हुने आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्