२३ असार २०८३, मंगलबार

एनसेल लाभकर असुल प्रकरणः सांसदको शंकैशंका, प्रम भन्छन् –कुनै सम्झौता हुँदैन

कात्तिक २०, २०७४
एनसेल लाभकर असुल प्रकरणः सांसदको शंकैशंका, प्रम भन्छन् –कुनै सम्झौता हुँदैन

काठमाडौं, २७ चैत – निजी क्षेत्रको दूरसंचार प्रदायक कम्पनी एनसेलको शेयर हस्तान्तरणमा लाग्ने पूँजीगत लाभकर असुलीका सम्बन्धमा सांसदहरूले सरकारको निर्णयप्रति आशंका व्यक्त गरेका छन् । संसद सचिवालय सिंहदरवारमा आइतवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने अधिकांश सांसदले लाभकर असुलीमा ढिलासुस्ती र अनिच्छा देखिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवाडाले एनसेल लाभकरका सम्बन्धमा समितिले दिएका निर्देशनको सरकारले वेवास्ता गरेको आरोप लगाए । सरकारी कमजोरीका कारण एनसेलको विक्रेता कम्पनी टेलियासोनेराले उन्मुक्ति पाएको खतिवाडाको आरोप थियो । यसअघि १२ पटक एनसेलको शेयर खरिद –विक्री हुँदा सरकारलाई लाभकर नआएको भन्दै उनले सरकारको आलोचना गरे ।

कांग्रेसका अर्का सांसद धनराज गुरुङले एनसेलको क्रेता कम्पनी आजियाटाबाटै पूँजीगत लाभकर असुल गर्नुपर्ने बताए । कांग्रेसकै सांसद अमृतलाल राजवंशीले कर असुुल गर्ने विषय सम्बन्धित कर अधिकृतको भएको भन्दै उक्त विषय मन्त्रिपरिषद्मा छलफल हुनु दूर्भाग्यपूर्ण भएको बताए । उनले कर असुलीका सम्बन्धमा बदमासी गर्नेमाथि कारवाही गर्नुपर्ने बताए ।

एनसेल विक्री भएको समयमा केपी ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद आनन्दप्रसाद पोखरेलले कर असुलीका सम्बन्धमा सरकारको नियत खराब रहेको भन्दै आलोचना गरे । लाभकरका सम्बन्धमा प्रधानमन्त्री र अर्थमन्त्रीको मत बाँझिएको भन्दै त्यसले आशंका बढाएको बताए । कर असुलीका सम्बन्धमा सरकारले संसदीय समितिलाई गुमराहमा राखेको उनको आरोप थियो ।

नेकपा एमालेका सांसद विकास लम्सालले सम्बन्धित पक्षबाट कर असुल नभए गम्भीर राष्ट्रघात हुने बताए । राप्रपा नेपालका सांसद भाष्कर भद्राले पूँजीगत लाभकर असुलीका सम्बन्धमा सरकारले चाँडै निर्णय लिनुपर्ने बताए ।

तराई –मधेश लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले कारोबार सम्पन्न भएको लामो समय वितिसक्दा पनि करबारे टुंगो लाग्न नसकेको भन्दै यसमा संलग्न दोषीमाथि कडा कारवाही गर्न सरकारसमक्ष माग गरे । कर उन्मुक्ति दिनु गम्भीर आर्थिक अपराध हुने उनको भनाई थियो । विक्रेता कम्पनीलाई बोलाएर भए पनि कर असुल गर्नुपर्ने उनले बताए ।

‘ढुक्क हुनुस्, कर असुल हुन्छ’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै पनि हालतमा एनसेलको सेयर हस्तान्तणमा लाग्ने पूँजीगत लाभकर असुल गरेरै छाड्ने प्रतिवद्वता जनाए । ‘लाभकर असुल्ने सम्बन्धमा सरकारले कुनै पनि सम्झौता गर्नेछैन,’ उनले भने ।

आयकर ऐेनले तोकेबमोजिम सम्बन्धित पक्षबाट पूँजीगत लाभकर असुल गरिने उनले बताए । प्रचण्डले आगामी दिनमा विदेशी लगानी प्रोत्साहन हुने र लाभकर पनि असुल हुने हिसावमा सम्बन्धित पक्षलाई जिम्मेवार बनाइने विश्वास दिलाए ।

एनसेलका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको सम्बन्धमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले थपे, ‘पूँजीगत लाभकर कसले तिर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्मा औपचारिक छलफल र निर्णय भएको छैन ।’ प्रधानमन्त्री कार्यालयमा निवेदन प्राप्त भएको र कर असुलीका सम्बन्धमा सम्बन्धित निकायलाई जिम्मेवार बनाउने भन्ने हिसावमामात्र मन्त्रिपरिषद्मा मौखिक र अनौपचारिक छलफल भएको उनले प्रष्ट पारे ।

‘विषयको गाम्भिर्यका हिसावले मन्त्रिपरिषद्मा अनौपचारिक र मौखिक छलफलमात्र भएको हो,’ उनले थपे ।

कर असुलीका सम्बन्धमा विगतमा गल्ती भएको भए सम्बन्धीत अधिकारीमाथि छानविन हुनुपर्ने उनले बताए ।

एनसेल नेपालमै भएकाले पनि कर असुल गर्न अप्ठ्यारो नहुने उनको भनाई थियो ।

‘आवश्यक परे क्रेता र विक्रेतालाई बोलाएर छलफल र निकास निकाल्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

यसअघि अर्थमन्त्री कृष्णबहादुर महराको भनाइबाट सन्तुष्ट नभएपछि लेखा समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो ।

आइतवारको उक्त बैठकले यसअघि दिइएको निर्देशन अनुरुप नै आगामी वैशाखभित्र लाभकर असुल गर्न निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्