२० असार २०८३, शनिबार

कक्षा १२ सम्म अध्ययन गर्ने शर्तमा छात्रालाई साइकल उपहार

कक्षा १२ सम्म अध्ययन गर्ने शर्तमा छात्रालाई साइकल उपहार
फाइल तस्वीर

कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले  छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ । 

मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो । हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए। 

हाँका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा २३५ छात्रालाई साइकल बाँड्ने गरी बजेट विनियोजन गरेको छ । मुस्लिम र आदिवासी समुदायका छात्राले माध्यमिक तहको शिक्षा पूरा नगर्दै विद्यालय छाड्ने समस्यालाई अन्त्य गर्न र शिक्षातर्फ आकर्षण बढाउन साइकल वितरण कार्यक्रम कार्यान्वयन गरेको पालिकाले जनाएको छ । 

हालसम्म कक्षा ९ मा अध्ययनरत जनकल्याण माविका २०, कुवाडी देवी माविका ३३ र जनता माविका ८५ छात्राले साइकल पाइसकेका छन् । डिल्लीराज माविका ९७ छात्रालाई आगामी साता साइकल वितरण गरिने उनले जानकारी दिए।

छात्रालाई अध्ययनमा प्रोत्साहित गर्न साइकल बाँड्ने पहिलो स्थानीय तह रहेको बताइन्छ । गत महिना सोही गाउँपालिकाले ५० भन्दा बढी महिला स्वयंसेविकालाई समेत निःशुल्क साइकल बाँडेको थियो ।

शिक्षामा लगानी बढाउँदै नमूना बनिरहेको सो गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी प्राविधिक शिक्षा पढ्ने सबै छात्रछात्रालाई जनही रु १२ हजारका दरले प्रोत्साहन रकम दिने तयारी गरिरहेको छ । सो कार्यका लागि हाल नाम सङ्कलन भइरहेको अध्यक्ष साहले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्