१६ असार २०८३, मंगलबार
सरकारी सेवा

घूस नदिई बन्दैन काम : सरकारी कामको गुणस्तर र कर्मचारीको व्यवहारमा सेवाग्राहीको गुनासो

पुस ६, २०७६
घूस नदिई बन्दैन काम : सरकारी कामको गुणस्तर र कर्मचारीको व्यवहारमा सेवाग्राहीको गुनासो

सेवाग्राहीहरूले सरकारी कार्यालयबाट सेवा लिँदा घूस दिनुपर्ने बाध्यता अझै पनि कायम रहेको एक अध्ययनले देखाएको छ । घूस नदिएका कारण आफ्नो काम समयमा नभएको सेवाग्राहीको गुनासो छ ।

सरकारी कार्यालयबाट सेवा दिँदा कर्मचारीले घूस माग्छन्, घूस नदिए समयमा काम गर्दैनन् । राष्ट्रिय सतकर्ता केन्द्रले सिन्धुली जिल्लामा सेवाग्राहीबीच गरेको सर्वेक्षणमा यस्तो तथ्य सामने आएको हो ।

केन्द्रले १० वटा प्रश्न तयार पारी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयमा सेवा लिन आएका १५० जना सेवाग्राहीलाई फारम भराएको थियो । त्यसक्रममा सेवाग्राहीले घूस नदिएमा आफूहरूको काममा ढिलासुस्ती हुने गरेको गुनासो गरेका थिए ।

१० प्रतिशत कामको ढिलाई घूस नदिएकै कारण हुने गरेको पाइयो ।

यस्तै कार्यालयमा सम्बन्धित कर्मचारी नभएकाले २७ प्रतिशत र कर्मचारीले काम नगरेका कारण ३६ प्रतिशत सेवाग्राहीको काम ढिला भएको सर्वेक्षणबाट आएको तथ्यांकमा उल्लेख छ ।

सेवाग्राहीमा सचेतनाको अभाव

सरकारी कार्यालयबाट के­के काम कुन–कुन प्रक्रिया पूरा गरेर हुन्छ भन्ने साधारण ज्ञानको कमी अहिले पनि ठूलो संख्याका सेवाग्राहीमा रहेको पाइन्छ ।

सिन्धुली जिल्लाका १८ प्रतिशत सेवाग्राहीलाई अहिले पनि सरकारी कार्यालयको नागरिक बडापत्रबारे जानकारी छैन ।

कार्यालयको नागरिक बडापत्रको बारेमा सञ्चार माध्यमबाट थाहा पाउनेको संख्या १८ प्रतिशत र सम्बन्धित कार्यालयमा आफैंले पढेर थाहा पाउनेको संख्या ७८ प्रतिशत रहेको सर्वेक्षण सर्वेक्षणमा पाइएको छ ।

सरकारी कार्यालयबाट काम गर्दा आवश्यक वा तोकिएको कागजात पुर्‍याउन नजान्नेको संख्या २७ प्रतिशत रहेको पाइएको छ ।

सिन्धुली जिल्लाका थोरै संख्यामा नागरिकलाई मात्रै सरकारी कार्यालयबाट सार्वजनिक सरोकारका सूचना मागेर पाउन सकिन्छ भन्ने कुरा थाहा भएको देखिन्छ ।

सूचनाको हकको बारेमा थाहा भएको/नभएको बारेमा सरकारी कार्यालयमा आएका सेवाग्राहीलाई सोध्दा ५७ प्रतिशत सेवाग्राहीले सो बारेमा आफूलाई थाहा नभएको बताए ।

सर्वेक्षणका क्रममा सरकारी कार्यालयमा सेवा लिन आएका ४१ प्रतिशत सेवाग्राहीले मात्रै सूचनाको हकका बारेमा आफूलाई जानकारी भएको बताए ।

सेवा प्राप्त नगरे पनि मौन रहन्छन् सेवाग्राही

सरकारी कार्यालयमा राखिएको नागरिक बडापत्र वा नेपालको कानूनअनुसार आम नागरिकले तोकिएको सेवा, तोकिएको प्रक्रिया पूरा गरी तोकिएको समयमा प्राप्त गर्ने व्यवस्था गरेको छ ।

सरकारी कार्यालयहरूमा सेवाग्राहीले पाउने सेवामा ढिलाई हुने वा सेवा प्राप्त नहुने स्थिति भएतापनि अधिकांश सेवाग्राहीले सम्बन्धित ठाउँमा उजुरी वा गुनासो भने गर्दैनन् ।

सरकारी कार्यालयमा आफूले पाउने सेवा प्राप्त नगरेका सेवाग्राहीलाई सोध्दा ८२ प्रतिशत सेवाग्राहीले गुनासो वा उजुरी गर्ने कार्य नगरेको बताए भने १५ प्रतिशत सेवाग्राहीले मात्रै उजुरी वा गुनासो गरेको जवाफ दिए ।

सरकारी कार्यालयबाट पाउने सेवाको गुणस्तरको सन्दर्भमा ८० प्रतिशतले असन्तुष्टि व्यक्त गरेका छन् भने ७५ प्रतिशत सेवाग्राहीले कर्मचारीको व्यवहार समेत राम्रो नभएको बताएका छन् ।


सर्वेक्षण तथ्यांक स्रोत: राष्ट्रिय सर्तकता केन्द्र

राष्ट्रिय सतर्कता केन्द्रले सु­सासनको स्थिति मापनका लागि यो आर्थिक वर्षमा ७ वटा प्रदेशका ७ वटा जिल्लामा सेवाग्राही सर्वेक्षण गरेको छ ।

प्रदेश ३ अन्तर्गत सिन्धुली जिल्लाको सेवाग्राही सर्वेक्षण गएको मंसिर महिनामा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्