
अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन्।
बुधबार अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुसी व्यक्त गर्दैै नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए।
खतिवडाले कुकाठजन्य वनस्पतीलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए। उनले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्दै प्लाइउड उत्पादक संघले राखेका समस्याका बारेमा छलफल गरी समाधान गरिने बताए।
प्लाइउड उद्योगसंग सम्बन्धित समस्याहरु माननीय अर्थमन्त्री समक्ष राख्दै नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदीपकुमार चौधरीले हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योग चालु अवस्थामा रहेका, यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको बताए।