
नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै उपलब्ध गराएको ‘फिफा विश्वकप २०२६ टीभी प्याकेज’ सम्बन्धी समस्या तथा गुनासोका लागि चौबिसै घण्टा ग्राहक सेवा उपलब्ध गराएको जनाएको छ ।
टेलिकमका अनुसार प्याकेज खरिदका क्रममा कुनै समस्या आएमा वा गुनासो भएमा १९८ नम्बरमा सम्पर्क गर्न सकिनेछ । त्यसैगरी, प्याकेज खरिदसँग सम्बन्धित गुनासो सम्बोधनका लागि वैकल्पिक नम्बर ०१–५९७००१९ मा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । प्राप्त गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरिने टेलिकमले जनाएको छ।
‘फिफा विश्वकप २०२६ टीभी प्याकेज’ अन्तर्गत एनटीटीभीका सबै ग्राहकले ९९९ रूपैयाँमा प्याकेज खरिद गरी विश्वकपका प्रत्यक्ष खेल हेर्न सक्नेछन् ।
वार्षिक १०० एमबीपीएस वा सोभन्दा माथिको ‘इन्टरनेट विथ प्रिमियम आईपीटीभी’ प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएसभन्दा कम गतिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति गर्ने ग्राहकले भने यो प्याकेज बोनसस्वरूप निःशुल्क प्राप्त गर्नेछन् ।
बोनस प्याकेज सक्रिय गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# डायल गरी त्यसपछि ४ थिच्नुपर्नेछ । प्राप्त निर्देशनअनुसार सेटटप बक्सको म्याक एड्रेस उपलब्ध गराएपछि बोनस प्याकेज सक्रिय हुने प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।
त्यसैगरी, एनटीटीभी ग्राहकले टेलिभिजनमा हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा देखिने इन्ट्री स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि प्राप्त ओटीपी स्क्रिनमा राखेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रूपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ ।
नेपाल टेलिकमले नजिकको ग्राहक सेवा केन्द्रबाट समेत उक्त प्याकेज सक्रिय गर्न सकिने जनाएको छ ।