
चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लूएम)ले स्थापनाको ३५ औं वर्षगाँठका अवसरमा आफ्नो अन्तर्राष्ट्रिय विस्तार यात्राका महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ । कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ ।
सानो स्वदेशी अटोमोबाइल निर्माता कम्पनीका रूपमा शुरू भएको GWM अहिले विश्वका १७० भन्दा बढी देशमा पुगिसकेको छ ।
मध्यपूर्वमा पहिलो निर्यातबाट शुरू भएको कम्पनीको अन्तर्राष्ट्रिय यात्रा युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, थाइल्यान्ड, जर्मनी, ब्राजिल र मेक्सिकोसम्म विस्तार भएको छ ।
कम्पनीले प्रत्येक नयाँ बजारमा स्थानीय उत्पादन, स्थानीय सञ्चालन र विश्वव्यापी आपूर्ति शृंखलाको एकीकरणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
GWM ले प्रविधि नवप्रवर्तनलाई आफ्नो विकासको मुख्य आधार बनाएको छ । कम्पनीका HAVAL, WEY, TANK, ORA र POER गरी पाँच प्रमुख उत्पादन शृंखलाले विभिन्न ग्राहक समूहको आवश्यकता पूरा गरिरहेका छन् । कम्पनीका अनुसार HAVAL ब्रान्डका एसयूभीको विश्वव्यापी सञ्चयी बिक्री ५० लाख इकाइभन्दा बढी पुगेको छ ।
कम्पनीले नयाँ ऊर्जा तथा अफ–रोड प्रविधिमा समेत लगानी बढाएको जनाएको छ । Hi4 प्रविधिको विकास तथा ब्राजिलमा स्थानीय उत्पादन प्लान्ट स्थापना जस्ता कदमले GWM लाई दिगो र स्मार्ट मोबिलिटी क्षेत्रमा थप सशक्त बनाएको कम्पनीको दाबी छ ।
GWM अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड ORA ले पनि अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय पहिचान बनाएको छ । रेट्रो–फ्युचरिस्टिक डिजाइन शैलीका कारण ORA ले विभिन्न अन्तर्राष्ट्रिय डिजाइन अवार्ड तथा सम्मान प्राप्त गरेको कम्पनीले जनाएको छ ।
यसैबीच, GWM ले हालै ‘Tech to Enjoy Every Journey’ भन्ने नयाँ ब्रान्ड मिसन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘All Scenarios, All Powertrains, All Users’ अवधारणामा आधारित यो रणनीतिले विभिन्न आवश्यकता भएका ग्राहकका लागि प्रविधिमैत्री, सुरक्षित र सहज यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।