
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सोमबार हुने तय गरिएको बन्दसत्रको कार्यक्रम सारिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचनाअनुसार प्रदेशबाट प्राप्त नामावलीका आधारमा प्रतिनिधि कार्ड छपाइ तथा वितरण कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्रको समय परिवर्तन गरिएको हो ।
सूचनामा छापिएका प्रतिनिधि कार्ड वितरण सोमबार साँझ ७ बजेदेखि शुरू गरिएको छ । प्रक्रियामा रहेका कार्ड मंगलबार बिहान ७ बजे वितरण गरिनेछ ।
कार्ड वितरण सम्पन्न भएपछि बन्दसत्रको कार्यक्रम शुरू हुने सूचनामा उल्लेख छ ।
महाधिवेशनको व्यवस्थापन प्रक्रियामा कुनै विवाद वा असमझदारी नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको भनिएको छ ।
रास्वपाले बन्दसत्र ढिला हुन गएकोमा प्रतिनिधि, सदस्य तथा शुभेच्छुकसँग क्षमा मागेको छ । साथै, धैर्य, समझदारी र सहयोगका लागि धन्यवादसमेत भनेको छ ।