
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र शुरू भएको छ ।
सोमबार नै शुरू गर्ने भनिएको बन्दसत्र मंगलबार दिउँसो मात्र शुरू भएको हो । जारी बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भने सहभागी भएका छैनन् ।
पार्टी सभापति रवि लामिछाने हलमा प्रवेश गरेर बोल्न थालेसँगै बन्दसत्र शुरू भएको हो ।
सक्षम नेतृत्व चयन गर्न रास्वपामा कडा मापदण्ड लागू गरिएको छ । योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको बताइएको छ ।
निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक/एक जना प्रस्तावक अनिवार्य गरिएको छ ।
सभापतिका लागि ५१ जना समर्थक र पदाधिकारी र केन्द्रीय सदस्यका लागि २१/२१ जना समर्थक अनिवार्य गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको छ । उनले भने, 'नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो ।'