
आयोजक मेक्सिकोले विश्वकप २०२६ को समूह 'ए' को अन्तिम खेलमा चेक गणतन्त्रलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै सानदार जित दर्ता गरेको छ।
मेक्सिको सिटी स्टेडियम (एज्टेका) मा बिहीबारको जितसँगै मेक्सिको समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। यो मेक्सिकोका लागि सन् १९७० पछि विश्वकपमा हात पारेको सबैभन्दा ठूलो जित हो।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले पूर्ण रूपमा नियन्त्रण जमायो। खेलको ५५औँ मिनेटमा लुइस रोमोको पासमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। त्यसको केही मिनेटमै अर्थात् ६१औँ मिनेटमा जर्ज सान्चेजको सहयोगमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।
खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका अल्भारो फिडाल्गोले १८ यार्ड टाढाबाट सुन्दर गोल गर्दै मेक्सिकोको ३-० को जित सुनिश्चित गरे। चेक गणतन्त्रको रक्षापंक्तिलाई पूर्ण रूपमा दबाबमा राखेको मेक्सिकोका लागि यो खेल ऐतिहासिक उत्सव जस्तै बन्यो।
खेलको ८०औँ मिनेटमा मेक्सिकोका भेट्रान गोलकिपर गुइलेर्मो ओचोआ मैदान प्रवेश गर्दा रङ्गशालामा उपस्थित हजारौँ दर्शकले उनलाई उभिएर सम्मान दिएका थिए। ४१ वर्ष टेक्नै लागेका ओचोआको यो १५४औँ अन्तर्राष्ट्रिय क्याप हो।
अर्कोतर्फ, चेक गणतन्त्रका लागि भने यो खेल बिर्सनलायक रह्यो। खेलको अन्त्यतिर कप्तान टोमास सुचेक गोल बचाउने क्रममा नराम्ररी लडेर घाइते भएपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो।
चेक गणतन्त्रको आक्रमणमा कुनै स्पष्ट योजना देखिएन र टोलीले मेक्सिकोलाई चुनौती दिन सकेन। यसै समूहको अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १-० ले हराउँदै उपविजेताको रूपमा नकआउट चरणको यात्रा तय गरेको छ। मेक्सिको र दक्षिण अफ्रिका अर्को चरणमा प्रवेश गर्दा चेक गणतन्त्र र दक्षिण कोरिया भने प्रतियोगिताबाट बाहिरिएका छन्।