२१ असार २०८३, आइतबार
फिफा विश्वकप–२०२६

नकआउट चरणको होडमा कुराकाओ र आइभोरी कोस्ट, कसले मार्ला बाजी?

असार ११, २०८३
काठमाडौं
नकआउट चरणको होडमा कुराकाओ र आइभोरी कोस्ट, कसले मार्ला बाजी?

फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ई’को अन्तिम खेलमा शुक्रबार बिहान नवप्रवेशी कुराकाओ र आइभरी कोस्टबीच प्रतिस्पर्धा हुँदैछ ।

आइभरी कोस्ट र कुराकाओबीचको खेल अमेरिकाको फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा नेपाली समयअनुसार, बिहान ०१:४५ बजे शुरू हुनेछ ।

सोही समूहको अर्को खेल चार पटकको च्याम्पियन जर्मनी र इक्वेडरबीच न्यू योर्कस्थित मेटलाइफ स्टेडियममा खेलिने छ । यो खेल पनि बिहान ०१:४५ बजे नै शुरू हुनेछ ।

कुराकाओ र आइभरी कोस्टबीचको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो समूहबाट जर्मनी लगातार दुई जितसँगै यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

बाँकी तीन टोलीबीच नकआउट चरणमा पुग्न चर्को प्रतिस्पर्धा देखिन्छ । तालिकामा ६ अंकसहित जर्मनी पहिलो, तीन अंकसहित आइभरी कोस्ट दोस्रो, एक अंकसहित इक्वेडर तेस्रो र समान अंक जोडेको कुराकाओ चौथो स्थानमा छन् ।

एक अंक बटुलेको विश्वकपको सबैभन्दा सानो राष्ट्र कुराकाओका लागि नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाब छ ।

अर्कोतिर, तीन अंक जोडेको आइभरी कोस्टका लागि भने बराबरीको नतिजा पनि दोस्रो चरणमा स्थान सुरक्षित गर्न पर्याप्त हुने देखिन्छ ।

विश्वकपमा पहिलो पटक छनोट भएरै इतिहास रचेको कुराकाओका लागि जारी प्रतियोगितामा यो सबैभन्दा कठिन परीक्षा हुनेछ ।

अनुभवी प्रशिक्षक डिक एडभोकाटको नेतृत्वमा रहेको कुराकाओले आफ्नो पहिलो खेलमा बलियो जर्मनीसँग ७–१ गोलको फराकिलो हार ब्यहोरेको थियो ।

कुराकाओले दोस्रो खेलमा भने इक्वेडरलाई गोलरहित बराबरीमा रोकेर सनसनी मच्चाएको थियो । त्यो खेलमा गोलरक्षक एलोय रुमले १५ पटक उत्कृष्ट बचाउ गर्दै कीर्तिमान बनाएका थिए ।

यद्यपि, आइभरी कोस्टविरुद्धको अन्तिम खेलमा कुराकाओले आफ्नो रक्षात्मक रणनीतिभन्दा बाहिर निस्किएर गोलका लागि प्रयास गर्नुपर्ने हुन्छ, जुन उनीहरूका लागि निकै चुनौतीपूर्ण देखिन्छ ।

अर्कोतर्फ, इमर्स फाएको प्रशिक्षकत्वमा रहेको आइभरी कोस्ट तुलनात्मक रूपमा बलियो टोली हो । टोलीले इक्वेडरलाई पराजित गरिसकेको छ भने जर्मनीलाई कडा टक्कर दिएको थियो ।

टोलीको मध्यपंक्तिमा कप्तान फ्रान्क केसी र इब्राहिम साङ्गरेको उपस्थिति र अग्रपंक्तिमा अमाद डियालो र एन्ज–योआन बोनीको लयले टोलीको मनोबल उच्च छ ।

इभान एनडिका र विल्फ्रेड सिङ्गोको अनुपस्थिति केही चिन्ताको विषय भए पनि समग्रमा टोली सन्तुलित देखिन्छ ।

प्रशिक्षक एडभोकाटले यो खेलमा ५–४–१ को रक्षात्मक रणनीति अपनाउने अनुमान गरिएको छ । चोटका कारण फरवार्ड योर्गेन लोकाडियाको उपस्थिति अन्योलमा देखिएको छ ।

तर, प्रशिक्षक एडभोकाट लोकाडिया मैदानमा ओर्लनेमा आशावादी देखिन्छन् । जुनिन्हो बाकुनाले मिडफिल्ड र काउन्टर अट्याकमा मुख्य भूमिका निर्वाह गर्नेछन् ।

आइभोरी कोस्ट भने ४–३–३ को आक्रामक रणनीतिमा देखिने सम्भावना छ । अमाद डियालोको ‘कट–इन’ शैली र मध्यपंक्तिबाट खेल नियन्त्रण गर्ने रणनीतिले कुराकाओको रक्षापंक्तिलाई दबाबमा राख्न सक्छ । आइभोरी कोस्टका लागि यान डियोमान्डेले अवसर सिर्जना गर्ने प्रमुख जिम्मेवारी निर्वाह गर्नेछन् ।

आइभरी कोस्ट र कुराकाओबीच हालसम्म कुनै पनि आधिकारिक खेल भएको छैन । त्यसैले यो भिडन्त थप रोमाञ्चक बन्ने पक्का छ ।

कुराकाओको रक्षात्मक संयमता र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका बाबजुद, खेलको अन्तिम समयमा जितका लागि आक्रामक बन्नुपर्ने बाध्यताले उनीहरूलाई थप जोखिममा पार्न सक्छ ।

यो खेलमा आइभरी कोस्टले धैर्यताका साथ खेल्दै जित हात पार्ने र नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बढी देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्