
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अमेरिका–इरान युद्धअघिकै अवस्थामा आइपुगेको छ ।
नेपालमा उच्च मूल्यमा पेट्रोलियम पदार्थ बिक्री भइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा झण्डै डेढ महिनादेखि निरन्तर घटिरहेको छ ।
यसैक्रममा कच्चा तेलको मूल्य शुक्रबार युद्धअघिकै अवस्थामा आइपुगेको हो।
अमेरिकाले इरानमाथि आक्रमण गर्नुअघिको कारोबार दिन ब्रेन्ट क्रुड (कच्चा तेल) प्रतिब्यारेल ७३.६८५ अमेरिकी डलरमा अन्तिम कारोबार भएको थियो।
त्यसपछि २८ फेब्रुअरीमा अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै कच्चा तेलको मूल्यमा एक्कासि उछाल आयो।
लगत्तैको कारोबार दिन प्रतिब्यारेल ८०.५०६ अमेरिकी डलरमा कारोबार शुरू भएको कच्चा तेलको मूल्य अप्रिल ३० मा १२०.५८२ अमेरिकी डलरसम्म पुगेको थियो।
त्यसयता लगातार ओरालो लागेको मूल्य शुक्रबार पुनः प्रतिब्यारेल ७३ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ, जुन अमेरिकाले इरानमाथि आक्रमण गर्नुअघिकै स्तर हो।
नेपालमा भने उच्च बिन्दुमा नै स्थीर राखेर पेट्रोलियम पदार्थ बेचबिखन भइरहेको छ ।