फिफा विश्वकपको २३ औं संस्करणको ‘नकआउट’ चरणमा मंगलबार सबैभन्दा रोमाञ्चक भिडन्त हुँदैछ । पोर्चुगल र स्पेनबीचको खेल अमेरिकाको डालासमा नेपाली समयअनुसार, राति ००:४५ बजे शुरू हुनेछ ।
रोमाञ्चक भिडन्तका लागि ‘आइबेरियन’ छिमेकी पोर्चुगल र स्पेन आमने–सामने हुँदा विश्वभरका फुटबल पारखीको ध्यान डालासतर्फ मोडिने पक्का छ ।
विश्व फुटबलमा राष्ट्रिय टोलीबीचको प्रतिष्पर्धाको कुरा गर्दा ‘आइबेरियन डर्बी’ अर्थात् पोर्चुगल र स्पेनबीचको भिडन्तलाई सबैभन्दा पुरानो र रोमाञ्चक प्रतिद्वन्द्वितामध्ये एक मानिन्छ ।
एक सय वर्षभन्दा लामो इतिहास बोकेको यी दुई छिमेकी राष्ट्रबीचको यो फुटबल द्वन्द्व केवल खेल मैदानमा मात्र सीमित छैन, यसको पछाडि शताब्दियौं पुरानो ऐतिहासिक पृष्ठभूमि जोडिएको छ ।
पोर्चुगल र स्पेनबीचको पहिलो आधिकारिक भेट सन् १९२१ को डिसेम्बर १९ तारिखमा मड्रिडमा भएको थियो, जहाँ पोर्चुगल १–३ गोलले पराजित भएको थियो ।
त्यसपछिका धेरै भेटमा पनि स्पेन आफ्नो वर्चस्व कायम राख्न सफल भयो । यी दुई टोलीबीच पहिलो पटक बराबरीको नतिजा सन् १९२६ मा निस्किएको थियो ।
पोर्चुगलले भने स्पेनविरुद्ध आफ्नो पहिलो ऐतिहासिक जित सन् १९४७ मा निकालेको थियो । त्यो खेलमा पोर्चुगलले ४–१ गोलको जीत दर्ता गराएको थियो ।

सन् १९८० को दशकयता भने यी दुवै देशका राष्ट्रिय टोलीले विश्व फुटबलमा उच्चस्तरको प्रदर्शन गर्दै आएका छन् ।
फिफाको विश्व वरीयतामा पनि यी दुई राष्ट्र नियमित रूपमा शीर्ष १० भित्रै रहँदै आएका छन् । हालसम्म दुई टोली ४१ पटक आमने–सामने भएका छन् ।
त्यसमध्ये स्पेन १७ खेलमा विजयी भएको छ भने पोर्चुगलले ६ खेलमा सफलता हात पारेको छ । बाँकी १८ खेल बराबरीमा सकिएको छ ।
पोर्चुगल र स्पेनबीचको ऐतिहासिक प्रतिद्वन्द्वीताको कुरा गर्दा सन् १५८१ मा पुग्नुपर्ने हुन्छ । त्यतिबेला पोर्चुगलका राजा हेनरीको कुनै उत्तराधिकारी नभई निधन भएपछि सत्ता संकट उत्पन्न भएको थियो ।
त्यसपछि स्पेनका राजा फिलिप द्वितीयले स्पेन र पोर्चुगलको राजमुकुटलाई एकीकरण गर्दै ‘आइबेरियन युनियन’ खडा गरेका थिए ।
यो शृंखला लगातार ६० वर्षसम्म कायम रह्यो र सन् १६४० मा पोर्चुगलले ‘पोर्तुगाली पुनर्स्थापना युद्ध’मार्फत आफ्नो स्वतन्त्रता पुन: प्राप्त गर्यो ।
१८औं शताब्दीमा पनि युरोपका यी दुई शक्ति राष्ट्र प्राय: फरक गुटमा देखिन्थे । बेलायतसँगको लामो समयदेखिको गठबन्धनका कारण पोर्चुगल एकातर्फ हुन्थ्यो भने स्पेन फ्रान्ससँग जोडिन्थ्यो ।
यसरी, सदियौं लामो राजनीतिक र ऐतिहासिक द्वन्द्वबाट गुज्रिएका पोर्चुगल र स्पेनका लागि विश्वकपमा मंगलबारको ‘आइबेरियन डर्बी’ केवल ९० मिनेटको खेलमात्र नभएर गौरव र इतिहासको लडाइँसमेत बन्ने पक्का छ ।
सबैभन्दा ठूलो कुरा, पोर्चुगल र स्पेन दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा विजयी हुने टोली क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित हुने टोलीसँग घर फर्किनुको विकल्प रहने छैन ।
रोबेर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको पोर्चुगलले अन्तिम–३२ मा बलियो प्रतिद्वन्द्वी क्रोएसियालाई २–१ गोलले हराउँदै यहाँसम्मको कठिन यात्रा तय गरेको हो ।
खेलको अन्तिम समयमा क्रोएसियाका खेलाडीले गरेको गोल ‘अफसाइड’ ठहरिएपछि पोर्चुगल भाग्यमानी सावित भएको थियो ।

पोर्चुगलका ४१ वर्षीय कप्तान एवम् स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसामू पनि विश्वकपको यो यात्रालाई निरन्तरता दिनुपर्ने ठूलो दबाब छ ।
अर्कोतर्फ, लुइस डे ला फुएन्टको प्रशिक्षणमा रहेको स्पेन झनै उत्कृष्ट लयमा देखिएको छ । स्पेन बलियो अस्ट्रियालाई ३–० गोलले पाखा लगाउँदै अन्तिम–१६ मा प्रवेश गरेको हो ।
स्पेनको टोलीले सन् २०१० को विश्वकप फाइनलपछि पहिलो पटक नकआउट चरणमा सफलता हात पारेको हो । यो विश्वकपमा स्पेनले हालसम्म एउटा पनि गोल खाएको छैन ।
आयोजक मेक्सिकोबाहेक गोल नखाने स्पेन एकमात्र टोली हो, जसले अस्ट्रियाविरुद्धको खेलमा विपक्षीलाई एकपटक पनि ‘सट अन टार्गेट’ प्रहार गर्ने मौका दिएको थिएन ।
यो खेललाई ‘पासको जालो’ वा ‘पासको लडाइँ’का रूपमा पनि हेरिएको छ । यी दुवै टोली बढीभन्दा बढी समय बललाई आफ्नो नियन्त्रणमा राख्न माहिर छन् ।
स्पेनका रोड्री र पेड्रीले मिडफिल्डमा अब्बल प्रदर्शन गर्नेछन् भने पोर्चुगलका भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेसले त्यसलाई चुनौती दिने सक्दो प्रयास गर्नेछन् ।
यसका बावजुद सबैको आँखा भने युवा स्टार लामिन यामल र पोर्चुगलका डिफेन्डर नुनो मेन्डेसबीचको भिडन्तमा केन्द्रित रहनेछ ।

स्पेनका प्रभावशाली फरवार्ड मिकेल ओयार्जाबल पनि उत्कृष्ट लयमा छन् । उनी टोलीको पछिल्ला १६ खेलमा २३ गोलका लागि कुनै न कुनै रूपमा संलग्न छन् ।
ऐतिहासिक तथ्याङ्कलाई हेर्दा पोर्चुगलभन्दा स्पेन बलियो देखिए पनि हालका वर्षमा भने यी दुई टोलीबीचको दूरी घटेको छ ।
सन् २०२४–२५ को नेसन्स लिगको फाइनलमा पोर्चुगलको टोलीले पेनाल्टी सुटआउटमा स्पेनलाई हराएको थियो ।
समग्रमा, स्पेनको अभेद्य रक्षापंक्ति र पोर्चुगलको आक्रामक शैलीबीचको यो प्रतिस्पर्धा कसले जित्ला, सहजै भन्न सकिने अवस्था छैन ।
तर, हालको बलियो रक्षात्मक लयलाई हेर्दा स्पेनलाई केही बलियो मानिएको छ । के रोनाल्डोले आफ्नो छैटौं विश्वकप सहभागितालाई ऐतिहासिक बनाउलान् ?
वा, यामलको टोलीले पोर्चुगललाई स्तब्ध: पार्दै क्वार्टरफाइनलको यात्रा तय गर्ला ? यतिबेला सारा विश्वको ध्यान डालासको मैदानतर्फ मोडिएको छ ।
भिडियो :