११ साउन २०८३, सोमबार

वार्तामा नआए इरानका पुल र विद्युत् गृह ध्वस्त पार्ने ट्रम्पको चेतावनी

असार ३१, २०८३
काठमाडौं
वार्तामा नआए इरानका पुल र विद्युत् गृह ध्वस्त पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान यदि तत्काल वार्ता र सम्झौताको टेबुलमा नआए आगामी हप्तादेखि त्यहाँका महत्त्वपूर्ण पुल र विद्युतगृह (बिजुलीघर)हरूमाथि भीषण बमबारी गर्ने धम्की दिएका छन्। फक्स न्युजसँगको एक अन्तर्वार्तामा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। दुवै देशबीच लगातार चौथो दिन पनि भयानक गोलाबारी जारी रहेकै बेला ट्रम्पको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

अन्तर्वार्ताका क्रममा ट्रम्पले भने, 'आगामी हप्ता उनीहरूका लागि निकै खराब साबित हुनेछ। यदि उनीहरू वार्ताको टेबुलमा आएर सम्झौता गर्दैनन् भने हामी उनीहरूका सबै विद्युतगृह र पुलहरू ध्वस्त पारिदिनेछौँ।' उनले अमेरिकी वार्ताकारहरूले इरानी पक्षलाई 'कि त सम्झौता गर, होइन भने तिमीहरूसँग केही पनि बाँकी रहने छैन' भन्दै सन्देश पठाइसकेको समेत खुलासा गरे।

यसअघि गत अप्रिलमा पनि ट्रम्पले इरानका नागरिक पूर्वाधारहरूमाथि आक्रमण गर्ने धम्की दिएका थिए। त्यतिबेला संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले ट्रम्पको भनाइको प्रतिवाद गर्दै अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक र नागरिक पूर्वाधारहरूलाई जानाजानी निशाना बनाउनु 'युद्धअपराध' हुने चेतावनी दिएका थिए। सन् १९४९ को जेनेभा महासन्धिले पनि युद्धका बेला सर्वसाधारणका लागि अत्यावश्यक मानिने यस्ता स्थलहरूमाथि आक्रमण गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।

राष्ट्रपति ट्रम्पले हर्मुझ स्ट्रेटबाट आवतजावत गर्ने सबै मालवाहक जहाजहरूमाथि लगाउने भनिएको २० प्रतिशत शुल्कको निर्णय भने फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै सो शुल्कको सट्टा खाडी मुलुकहरूले अमेरिकासँग 'विशाल' व्यापार र लगानी सम्झौता गर्ने बताएका छन्। तर, यो घोषणा गरेको केही घण्टामै अमेरिकाले इरानी बन्दरगाहहरूमाथि पुनः जलसेनाको कडा नाकाबन्दी गरेको छ।

ट्रम्पले हर्मुज स्ट्रेट इरानबाहेक संसारका सबै जहाजका लागि खुला रहेको र अमेरिकी सेनाको शक्तिका कारण तेलको बहाव पहिले जस्तै भइरहेको दाबी गरे। 

पछिल्लो सैन्य तनावका कारण हर्मुज स्ट्रेटमा ट्याङ्करहरूको आवतजावत दुई महिनायताकै न्यून बिन्दुमा पुगेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड)को मूल्यमा तीव्र वृद्धि भएको छ।

salt training

कमेन्ट गर्नुहोस्