राम्ररी झरी पर्न पाएकै हुँदैन, काठमाडौँका सडकहरू क्षणभरमै खोला बन्छन् ।
जम्मा १० मिनेटको वर्षा, अनि माइतीघर, न्युप्लाजा, त्रिपुरेश्वर र जमलजस्ता मुख्य व्यापारिक र प्रशासनिक केन्द्रहरू पोखरीमा परिणत हुन्छन् ।
जहाँ पैदलयात्री त के, ठूला गाडीलाई समेत पार पाउन मुस्किल पर्छ । आखिर किन सामान्य वर्षा हुँदा पनि काठमाडौं यसरी डुब्छ ? के यो प्राकृतिक विपत्ति हो, या हाम्रो मानवनिर्मित कमजोरी ?
सडक जलमग्न हुनु एउटा सामान्य समस्या जस्तो देखिए पनि, यसको भित्री कथा निकै गहिरो छ । काठमाडौँ उपत्यकाको विशिष्ट भूबनोटदेखि लिएर पुराना पूर्वाधार र कंक्रिटको सहरमा नासिएका खुला जमिनसम्मको ठूलो सञ्जाल यसमा जोडिएको छ ।
आज हामी काठमाडौँ डुब्नुको वास्तविक कारण र यसको दीर्घकालीन समाधानको ब्लु-प्रिन्ट (Blue-print) तपाईंलाई देखाउँदैछौं ।
कचौरा आकारको भूगोल र थुनिएका निकास
सबैभन्दा पहिलो कारण हो— काठमाडौँको भूगोल । भौगोलिक रूपमा कचौरा आकारमा फैलिएको यस उपत्यकामा धेरैजसो भूभागहरू उकालो र ओरालो स्वरूपमा छन् । वर्षा हुनासाथ माथिल्लो क्षेत्रबाट पानीको बहाव तल्लो ओरालो भागमा ह्वात्तै बढ्छ ।
त्यो तीव्र गतिको पानीले आफ्नो साथमा सडकका माटो, ढुङ्गा, हिलो र विशेषगरी प्लास्टिकजन्य फोहोरहरू सोहोरेर ल्याउँछ ।
बगेर आएका यी फोहोरले सडकमा पानी निकासका लागि बनाइएका ढलका मुख (क्याचपिट) हरू एकैचोटि थुनिदिन्छन् । निकास रोकिएपछि सडक क्षणभरमै पोखरी बन्छ ।
१० लाखको संरचनामा ४० लाखको भार
तर, सडकको निकास थुनिनु मात्र यसको सम्पूर्ण कारण होइन । यसको सबैभन्दा ठूलो कडी हो— जमिनमुनिको ढलको कमजोर क्षमता ।
काठमाडौँ महानगर नगर प्रहरी बलका प्रमुख विष्णुकुमार जोशीका अनुसार, काठमाडौंका अधिकांश ढलहरू धेरै वर्ष पुराना र अत्यन्तै साना क्षमताका छन् । नयाँ विकसित क्षेत्रमा ठूला ढल राखिए पनि, सहरका भित्री भागमा पुरानै संरचना छन्, जसले वर्षाको ठूलो बहाव धान्नै सक्दैनन् ।
हिजो जम्मा १० लाख जनसङ्ख्यालाई लक्षित गरेर बनाइएका ढल, शौचालय र सडकका संरचनाहरूले आज ४० देखि ५० लाख हाराहारी पुगेको विशाल जनघनत्वको भार कसरी थामोस् ? जनसङ्ख्याको चाप र उनीहरूबाट उत्सर्जन हुने फोहोर र पानीको मात्रा बढ्दा, ढल प्रणालीले हार खाइसकेको छ ।
समस्यालाई झनै विकराल बनाएको छ, कंक्रिटको अतिक्रमणले । विगतमा काठमाडौँका टुँडिखेल, नक्सालको नन्दिकेशर बगैँचा, तीनकुने र माइतीघरका खुला भागहरूले 'वाटर रिचार्ज सिस्टम' अर्थात् जमिनमुनि पानी सोस्ने प्राकृतिक प्रक्रियाको काम गर्थे ।
तर, आज जताततै पक्की संरचना र कालोपत्रे सडक छन् ।
आकाशबाट परेको पानी जमिनभित्र छिर्ने बाटो नपाएपछि सिधै सडकमा आउँछ र सडकबाट ढलमा ओइरिन्छ । प्रणालीले भार थेग्न नसक्दा सडक जलमग्न हुन्छ ।
यसमाथि खोला किनारका अव्यवस्थित बसोबास र अवैध संरचनाहरूले अर्को विपत्ति निम्त्याएका छन् । खोलाको बहाव क्षेत्रमा कतै ११ मिटर, कतै २० त कतै ४० मिटरको मापदण्ड तोकिएको छ । तर मानवीय अतिक्रमणले खोला साँघुरिएका छन् । बाटो नपाएपछि बर्खाको पानी बस्ती र सडकतिर सोझिनु स्वाभाविक हो ।
यस्तो विकराल अवस्थामा तत्कालको राहतका लागि काठमाडौं महानगरपालिकाले भने पूर्वतयारी गरिरहेको छ । सामाजिक विकास विभाग, स्वास्थ्य विभाग र नगर प्रहरी सम्मिलित एउटा 'क्विक रेस्पोन्स टीम (QRT)' बनाएर परिचालन गरिएको छ ।
विपद् व्यवस्थापन विभाग र महानगर प्रहरीले डुबान क्षेत्र पहिचान गरी पानी पर्नासाथ १५ देखि २० मिनेटभित्रै ढल सफा गरेर पानी सुकाउने प्रयास गरिरहेका छन् ।
यसका लागि महानगरलाई मध्य, पश्चिम, पूर्व लगायतका चार वटा क्षेत्रमा विभाजन गरिएको छ । खाली बोरा, त्रिपाल, पिक, हम्मर, ज्यावल, बोट र सुरक्षाका लागि पीपीई सेटसहित सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ ।
काठमाडौँ महानगरले विपद्का बेला तत्काल उद्धार गर्न १५/२० मिनेटमै ढल खुलाउने प्रयास गर्नु प्रशंसनीय छ । तर, यो अस्थायी मल्हम मात्र हो ।
नगर प्रहरी प्रमुख जोशीले भनेजस्तै, जबसम्म १० लाख जनसङ्ख्यालाई लक्षित गरिएको पुरानो पूर्वाधारलाई फेरेर वर्तमान र भविष्यका पचासौँ लाख जनसङ्ख्यालाई धान्न सक्ने आधुनिक र ठूलो क्षमताको ढल सिस्टम निर्माण हुँदैन, तबसम्म १० मिनेटको झरीमा काठमाडौँ डुब्ने नियति रोकिने छैन ।
यसका लागि प्राकृतिक जलप्रवाहलाई नरोक्न र दीर्घकालीन पूर्वाधार विकासमा राज्यको ध्यान जानु जरुरी छ ।