
विश्व फुटबलमा जब–जब इङ्ल्यान्ड र अर्जेन्टिना आमने–सामने हुन्छन्, तब–तब मैदानमा केवल २२ खेलाडी मात्र ओर्लँदैनन्। बरु त्यहाँ इतिहासका तीता–मीठा सम्झना, राजनीतिक तनावका बाछिटा र दशकौँ पुरानो प्रतिद्वन्द्विताको इतिहास पनि सँगै ओर्लन्छ।
सन् १९८६ को म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलदेखि सन् १९९८ को डेभिड बेकह्यामको रेड कार्ड घटनासम्मले यी दुई देशबीचको भिडन्तलाई फुटबल मैदानमा जहिले पनि रोमाञ्चक र विवादास्पद बनाउँदै आएको छ। र, यही महाभिडन्त फेरि एकपटक विश्वकप २०२६ को सेमिफाइनलमा हुँदैछ। अर्जेन्टिना र इङ्ल्यान्डबीचको यो ऐतिहासिक खेल एटलान्टाको मर्सेडिज–बेन्ज स्टेडियममा नेपाली समयअनुसार बिहीबार बिहान ००:४५ बजे शुरू हुनेछ।
यो खेल केवल एउटा खेल मात्र होइन। यो त लियोनल मेसीको अन्तिम ‘गौरव’ र जुड बेलिङ्घमको उदाउँदो ‘नायकत्व’ बीचको निर्णायक युद्ध पनि हो। यसपटकको विश्वकपमा चर्चा दुई ‘नम्बर १०’ जर्सीको छ। एकातिर ३९ वर्षीय लियोनल मेसी छन्, जो विश्व फुटबलकै सर्वकालिक महान् खेलाडी मानिन्छन्। उनी आफ्नो करिअरको उत्तरार्धमा विश्वकपको उपाधि रक्षा गर्दै डिएगो म्याराडोनाको विरासतलाई अझ मजबुत बनाउने धुनमा छन्। मेसी यो विश्वकपमा सर्वाधिक ८ गोल गर्दै ‘गोल्डेन बुट’को दौडमा पनि अग्रस्थानमा छन्।
अर्कोतर्फ छन्, २३ वर्षीय युवा जुड बेलिङ्घम। स्पेनिस पावर हाउस रियल म्याड्रिडका यी मिडफिल्डर अहिले आफ्नो करिअरको उत्कृष्ट लयमा छन्। जारी विश्वकपमा ६ गोल गरिसकेका बेलिङ्घमको चुस्तता, शक्ति र खेललाई नियन्त्रण गर्ने कलाले उनलाई इङ्ल्यान्डको आशाको केन्द्र बनाएको छ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्डले यसपटक जुन प्रदर्शन गरिरहेको छ, त्यसले समर्थकहरूमा ६० वर्ष लामो उपाधि खडेरीको अन्त्य हुने विश्वास जगाएको छ। विश्लेषकहरूका अनुसार, इङ्ल्यान्डका लागि फाइनलमा पुग्ने योभन्दा राम्रो मौका अर्को हुनै सक्दैन।
अर्कोतिर, लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको साविक विजेता अर्जेन्टिनाले जारी विश्वकपमा अघिल्लो संस्करणको तुलनामा औसत प्रदर्शन मात्र गरिरहेको देखिन्छ। इजिप्टविरुद्धको प्रि–क्वार्टरफाइनल र स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाको प्रदर्शन स्वाभाविक देखिएको थिएन। सेमिफाइनलमा इङ्ल्यान्डका एन्थोनी गोर्डन र बुकायो साकाको विङ्सबाट हुने आक्रमण अर्जेन्टिनाको रक्षापँक्तिका लागि टाउको दुखाइको विषय बन्न सक्छ। अर्कोतिर, लिसेन्ड्रो मार्टिनेजजस्ता डिफेन्डरहरूको गल्तीले इङ्ल्यान्डलाई अवसर दिने सम्भावना पनि उत्तिकै देखिन्छ।
यी दुई टोलीबीच विश्वकपमा हालसम्म पाँच पटक भेट भएको छ। पहिलो पटक सन् १९६२ को विश्वकपमा इङ्ल्यान्ड ३–१ ले विजयी भएको थियो। तर, सन् १९६६ को क्वार्टरफाइनल त्यो क्षण थियो, जहाँबाट यो प्रतिद्वन्द्विताले ‘शत्रुता’को रूप लियो। खेलका क्रममा अर्जेन्टिनाका कप्तान एन्टोनियो राटिनले रेफ्रीसँग विवाद गरेपछि उनलाई मैदानबाहिर पठाइयो। राटिनले मैदान छोड्न नमान्दा खेल आठ मिनेटसम्म रोकियो। त्यो खेलमा इङ्ल्यान्डका जेफरी हर्स्टले निर्णायक गोल गर्दै टोलीलाई १–० ले जिताए।
सन् १९८२ को फकल्याण्ड युद्धपछि, सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा यी दुई चिरप्रतिद्वन्द्वी फेरि भिडे। त्यो खेल केवल फुटबल थिएन, राष्ट्रिय सम्मानको लडाइँ थियो, जहाँ अर्जेन्टिना २–१ ले विजयी भयो र उपाधि नै जित्यो।
यस्तै, सन् १९९८ को अन्तिम–१६ को खेल डेभिड बेकह्यामका लागि निकै पीडादायी रह्यो। अर्जेन्टिनाका डिएगो सिमोनसँगको विवादमा बेकह्यामले जानीजानी खुट्टाले प्रहार गरेपछि रातो कार्ड खाए। १० खेलाडीमा सीमित इङ्ल्यान्ड पेनाल्टी सुटआउटमा पराजित भयो र बेकह्याम रातारात नायकबाट खलनायक बने। पछि सन् २००२ को विश्वकपमा बेकह्यामले नै पेनाल्टीबाट निर्णायक गोल गर्दै अर्जेन्टिनालाई समूह चरणबाटै घर फर्काएर आफ्नो बदला लिएका थिए।
सन् २००२ पछि यी दुई टोली विश्वकपमा आमने–सामने भएका छैनन्। तर एउटा रोचक कुरा, इङ्ल्यान्डले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलहरूमा अर्जेन्टिनी टोलीलाई निर्धारित ९० मिनेटभित्र हराउन सकेको छैन। अर्कोतिर, यो विश्वकपमा ह्यारी केन र जुड बेलिङ्घमले समान ६–६ गोल गरेका छन्। विश्वकपको इतिहासमा एउटै टोलीका दुई खेलाडीले एकै संस्करणमा ६ भन्दा बढी गोल गरेको यो पहिलो पटक हो।
अर्जेन्टिनाका खेलाडीहरू खेललाई ‘वाइल्ड’ बनाउन र विपक्षीलाई उक्साएर नियन्त्रण गुमाउन बाध्य पार्न सिपालु छन्। त्यसैले प्रशिक्षक टुचेलका लागि मेसीलाई रोक्न मात्र होइन, आफ्ना खेलाडीहरूलाई मानसिक रूपमा शान्त राख्नु पनि ठुलो चुनौती हुनेछ।
के मेसीको जादुले अर्जेन्टिनालाई अर्को फाइनलमा पुर्याउला? वा, बेलिङ्घमको जोसले इङ्ल्यान्डलाई ऐतिहासिक जित दिलाउला? यसको जवाफ केही घण्टाको प्रतीक्षापछि नै सबैको सामु हुनेछ।