
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान अमेरिकाको डालस स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा पुग्न सफल भएको हो।
स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेद्रो पोरोले एक–एक गोल गरे।
००००
जनकपुरबाट पैदल यात्रा गरी काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ पुगेका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडकको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
निजगढमा मंगलबार पीडितको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै विवरण सङ्कलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण सङ्कलन सुरु गरेको छ ।
००००
नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।
इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका १६ जना प्रतिवादीहरूको सजाय तथा जरिवाना निर्धारण गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार विभिन्न कसुरमा दोषी ठहर भएका प्रतिवादीहरूलाई अलग–अलग कसुर र एकीकृत सजायसहित कैद तथा जरिवाना तोकेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार सबै सजायलाई सिधै जोडेर कुल सजाय नहुने व्यवस्था छ । 'एकीकृत सजाय निर्धारण गर्ने एउटा निश्चित कानूनी नियम हुन्छ,सोही अनुसार गणना गरिन्छ,'उनले भने ।
उनका अनुसार पहिलो चरणमा तोकिएका सजायहरूमध्ये सबैभन्दा बढी (धेरै) कैद र जरिवाना भएको सजायलाई आधार मानिन्छ । त्यसपछि दोस्रो चरणमा बाँकी सजायहरूमध्ये दोस्रो धेरै जुन सजाय छ,त्यसको आधा (५० प्रतिशत) सजाय निकालिन्छ ।
जसअनुसार अदालतले बालकृष्ण खाणलाई २ वर्ष जेल सजाय तोकेको छ । यसैगरी टोपबहादुर रायमाझीलाई ४ वर्ष जेल सजाय भएको छ ।
००००
काठमाडौं जिल्ला अदालतले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।
यस्तै,पीडित महिलामाथि अहिराजले लगाएको आपराधिक लाभमा अदालतले दाबी नपुग्ने आदेश गरेको छ ।
००००
उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौंको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बाँस्तोलाको संयुक्त इजलासले यही असार २३ गते संविधानसभा सदस्यहरू गायत्री साह,विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो ।
उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार संविधानसभाका तीन सदस्यलाई जिल्लाले ठहर गरेको जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो ।
००००
अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् ।
उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन् ।
००००
नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ महाप्रबन्धकको कामसमेत गर्ने गरी नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक छ दशमलव ११ अंकले बढेर दुई हजार पाँच सय ७६ दशमलव २६ मा पुगेको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार विनियोजन विधेयक २०८३,राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् ।
००००
सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापन दिन रोक लगाउने सरकारको निर्णयलाई खारेज गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय बदर गर्ने गरी रिट निवेदकको पक्षमा उत्प्रेषण जारी गरेको हो ।
००००
सिंहदरबारमा करारमा कार्यरत कर्मचारीहरूले अर्थ मन्त्रालय घेराउ गरेका छन् । आफ्नो जागिर जाने भएपछि उनीहरूले मंगलबार मन्त्रालय घेराउ गरेका हुन् ।
००००
भूमि,व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आफ्ना सभा र कार्यपालिकाका निर्णयहरू सार्वजनिक गर्न कडा निर्देशन दिएको छ । साथै,मन्त्रालयले सार्वजनिक सरोकारका अन्य सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्न भनेको छ।
००००
डेढ महिनापछि संसद्मा उपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) केहीबेर बसेर फर्किएका छन् ।
मंगलबार दिउँसो रास्वपा सभापति रवि लामिछानेसँगै बालेन संसद्मा प्रवेश गरेका थिए ।
जेठ १७ पछि पहिलो पटक संसद्मा उपस्थित भएका बालेन झण्डै २० मिनेट बसेर बाहिरिएका हुन् । बालेन आउँदा संसद्मा विशेष समयको कार्यक्रम चलिरहेको थियो ।
सांसदहरूले बालेनले दिएको अभिव्यक्ति संसद्बाट सच्याउनुपर्ने माग गरिरहेका थिए ।
यसैबीच,एमाले सांसद एशुदाकुमारी बरालले प्रधानमन्त्री बालेन आफ्ना कुरा सुन्न नसकेर संसद्बाट बाहिरिएको आरोप लगाइन् । बैठकमा सरकारका कामकारबाहीबारे विपक्षी सांसदले चर्को आलोचना गरेका थिए ।