०८ साउन २०८३, शुक्रबार

३८ वर्षपछि खुल्यो अस्पतालमा जन्मिँदा बच्चा साटिएको रहस्य

साउन ६, २०८३
काठमाडौं
३८ वर्षपछि खुल्यो अस्पतालमा जन्मिँदा बच्चा साटिएको रहस्य

अमेरिकामा ३८ वर्षअघि जन्मका बेला दुई बच्चा आपसमा साटिएको अनौठो र स्तब्ध पार्ने घटना सार्वजनिक भएको छ। भर्खरै गरिएको डीएनए टेस्टबाट नर्थ डकोटास्थित एक अस्पतालमा २६ जनवरी १९८८ मा जन्मिएका दुई शिशुहरू गल्तीवश फेरबदल भएको खुलासा भएको हो। 

यो तथ्य बाहिरिएपछि अहिले दुवै परिवारले सम्बन्धित 'युनिटी मेडिकल सेन्टर' विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।

अस्पतालको गम्भीर लापरवाहीका कारण आफूहरूले वास्तविक परिवारसँग पाउनुपर्ने जीवन खोसिएको आरोप दुवै परिवारले लगाएका छन्।

यस घटनाको खुलासा त्यतिबेला भयो जब काइल बाइलिन नाम गरेका व्यक्तिले क्रिसमसको अवसरमा उपहारस्वरूप पाएको 'होम डीएनए किट' बाट परीक्षण गराए। परीक्षणको नतिजा आउँदा उनले आफ्नो वास्तविक (बायोलोजिकल) काकीबारे जानकारी पाए। त्यसपछि ती काकीका भतिजा जेरेमी मोरिसनले पनि डीएनए परीक्षण गराए।

जब दुवै परीक्षणको नतिजा आपसमा भिडाइयो, उनीहरू स्तब्ध बने। मोरिसनलाई तब मात्र पूर्ण विश्वास भयो जब उनले बाइलिनका भाइको तस्बिर देखे र दुवैको अनुहार दुरुस्तै मिलेको पाए।

अदालतमा दायर गरिएको याचिका अनुसार बाइलिन र मोरिसन नै ती दुई बच्चा हुन्, जसको जन्म सन् १९८८ मा ग्राफ्टनस्थित युनिटी मेडिकल सेन्टरमा भएको थियो। अस्पतालको गल्तीका कारण उनीहरू जन्मिएकै दिन गलत आमाबुबासँग घर पुगेका थिए। बाइलिनसँग आज पनि अस्पतालको त्यो परिचय हातको ब्रेसलेट सुरक्षित छ, जसमा उनको नाम गल्तीले 'काइल बाइलिन' लेखिएको थियो।

डीएनए रिपोर्ट सार्वजनिक भएसँगै दुवै परिवारको दुनियाँ नै बदलिएको छ। भावुक भेटघाटपछि उनीहरूका अगाडि 'यदि यस्तो नभएको भए के हुन्थ्यो होला?' भन्ने अनुत्तरित प्रश्नहरू खडा भएका छन्। बाइलिनलाई हुर्काउने आमा एभलिन न्युटनले भनिन्, 'काइल आज पनि मेरो छोरा हो र सधैँ रहनेछ। तर, मलाई लाग्छ मैले मेरो वास्तविक छोरासँग बिताउनुपर्ने अमूल्य जीवन गुमाएँ।'

उता, अस्पताल प्रशासनले भने बच्चा फेरबदल भएको कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको छैन। युनिटी मेडिकल सेन्टरले करिब चार दशक पुरानो घटना भएकाले तत्कालीन मेडिकल र कर्मचारीसम्बन्धी रेकर्डहरू हाल उपलब्ध नरहेको र वास्तविकता बुझ्ने प्रयास भइरहेको जनाएको छ। 

साथै अस्पतालले यो गल्तीमा तत्कालीन प्रशासन वा कर्मचारी जिम्मेवार थिए भन्ने कुरा साबित गर्ने कुनै प्रमाण नभएको दाबीसमेत गरेको छ।

सत्य कुरा बाहिर आए पनि मोरिसनले आफूलाई हुर्काउने परिवारलाई नै आफ्नो मानेका छन्। उनी हाल कोलोराडोमा बस्छन् र एक विन्ड इनर्जी कम्पनीमा वेल्डिङ इन्स्पेक्टरका रूपमा कार्यरत छन्।

अहिले दुवै जनाले आफ्ना जन्मदिने (बायोलोजिकल) आमाबुबासँग भेट गरिसकेका छन्। भेटघाट आत्मीय भए पनि केही असहज र अनौठो महसुस भएको बाइलिनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्