
नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापनाको ऐतिहासिक ३६औँ वार्षिकोत्सवको अवसरमा विश्व प्रसिद्ध सिर्जनशीलता अन्वेषक तथा बेस्टसेलिङ लेखक फ्रेडरिक हेरेनको साथमा ‘क्रिएटिभिटी एण्ड बियोन्ड’ शीर्षकको एक विशेष मास्टरक्लास सफलतापूर्वक सम्पन्न गरेको छ । एक सय दश जनाभन्दा बढी विज्ञापन व्यवसायी, कर्पोरेट, ब्रान्ड र अन्य क्षेत्रका सिर्जनशील युवाहरूको उत्साहजनक सहभागितासहित विशेष कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा सिर्जनशीलताका अवरोधहरूलाई पार गर्दै र सकारात्मक प्रेरणालाई व्यावसायिक सफलतामा बदल्ने कलाका विभिन्न आयामहरू सिकाइएको थियो । विश्वका फर्च्युन ५०० कम्पनीहरूले विश्वास गरेका फ्रेडरिक हेरेनले कार्यक्रममा मुख्य वक्ताका रूपमा आफ्नो चर्चित पुस्तक ’द वर्ल्ड अफ क्रिएटिभिटी’मा आधारित रहँदै विश्वव्यापी नवीनता र सिर्जनशीलताका उपायहरूबारे गहन प्रस्तुतीकरणसहित सहभागीहरूलाई नयाँ सोचको विकास गर्न र सिर्जनात्मक अवरोधहरूलाई पन्छाउने व्यावहारिक तरिकाहरू सिकाएको आनले जनाएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सुदिप थापाले गरेका थिए । उनले सबै सहभागीहरूलाई स्वागत गर्नुका साथै नेपालको विज्ञापन जगतलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी बनाउन नयाँ सोच र नवप्रवर्तनको खाँचो औँल्याए । ‘आनको ३६ वर्षको गौरवशाली यात्रामा हामीले विज्ञापन उद्योगलाई सधैँ परिष्कृत बनाउने प्रयास गरेका छौँ । फ्रेडरिक हेरेनजस्तो अन्तर्राष्ट्रिय व्यक्तित्वलाई नेपालमा आमन्त्रित गरेर यो मास्टरक्लास आयोजना गर्नुको मुख्य उद्देश्य हाम्रा रचनात्मक सोचहरूलाई नयाँ उचाइ दिनु हो,’ उनले भने, ‘यो कार्यशालाले हाम्रा युवा तथा व्यावसायिक सहयात्रीहरूमा नवप्रवर्तनको नयाँ सञ्चार गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’ अध्यक्ष थापाले कार्यक्रमलाई भव्य रूपमा सफल पार्न प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी संस्थाहरूप्रति विशेष आभार एवं धन्यवाद पनि प्रकट गरे ।
सहभागीहरूको औसत उमेर ३० वर्ष रहनु नै वर्कशपको सबैभन्दा सुखद र उल्लेखनीय पक्ष रह्यो । जसले नेपालको कर्पोरेट र विज्ञापन बजारमा युवाहरूको बलियो उपस्थितिलाई दर्शाउँछ । सकारात्मक परिवर्तनबारे टिप्पणी गर्दै इन्टरनेशनल एडभरटाइजिंग एशोसिएसन (आईएए) नेपाल च्याप्टरका अध्यक्ष रन्जीत आचार्यले भने, ‘औसत ३० वर्ष उमेरका युवा पेसाकर्मीहरूको यो उत्साहजनक सहभागिताले नेपाली युवाहरू तीव्र रूपमा सिर्जनशीलता तर्फ आकर्षित भइरहेका छन् र विज्ञापनजस्ता रचनात्मक क्षेत्रलाई आफ्नो गतिशील करियरको रूपमा रोजिरहेका छन् भन्ने कुरालाई प्रमाणित गर्छ । युवा प्रतिभाहरूको नयाँ ऊर्जाले देशको सञ्चार र विज्ञापन क्षेत्रको भविष्य अझ बढी जीवन्त र नवीन बनाउने निश्चित छ ।’
त्यसैगरी कार्यक्रममा इमेज च्यानल (कामना इमेज ग्रुप)का प्रबन्ध निर्देशक चाङ अग्रवालले मिडियाको डिजिटल रूपान्तरण र सिर्जनात्मक प्रस्तुतिले विज्ञापन बजारमा पार्ने प्रभावबारे आफ्नो विशेष प्रस्तुतीकरण राखेका थिए ।