राजा पाण्डुको मृत्युपछि जब कुन्ती पाण्डवहरूका साथमा हस्तिनापुर प्रवेश गरिन्, तब त्यहाँको राजनीतिक इतिहासको नक्सा नै बदलियो । एकातर्फ धृतराष्ट्रपुत्र १०० भाइ कौरवहरू थिए, अर्कोतर्फ पाण्डुपुत्र पाँच भाइ पाण्डवहरू भए ।
राजा धृतराष्ट्र आफू दाजु हुँदाहुँदै नेत्रहीनताको निहुँमा भाइ पाण्डुलाई हस्तिनापुरको राजा घोषित गरिएकोमा पहिलेदेखि नै सन्तुष्ट थिएनन् । त्यसमाथि परिवन्दवश आफ्नो हातमा आएको राज्यसत्ता पनि अग्राधिकारका कारण पुन: पाण्डुपुत्र युधिष्ठिरको हातमा जाने निश्चित थियो, जुन चिन्ताले धृतराष्ट्रलाई मनमनै खाइरहेको थियो ।
पाण्डवहरूको आगमनसँगै बाबुको आडमा धृतराष्ट्रका पुत्रहरू उनीहरूमाथि ज्यादती गर्न थालेका थिए भने नेपथ्यमा बसेर मामा शकुनी उक्साउने गर्दथे । महर्षि व्यासजी आश्रमबाटै यी सब गतिविधि नियालिरहेका थिए । जब उनले आफ्ना दिव्य चक्षुद्वारा हस्तिनापुरको दु:खद भविष्य देखे, तब आमा सत्यवतीसमक्ष आएर भने– ‘माताजी ! मैले हस्तिनापुरको भविष्य राम्रो देखिरहेको छैन । त्यसैले सन्न्यास लिएर वनतर्फ लाग्नुहुन आग्रह गर्दछु ।’
पुत्र व्यासको कुरा सुनेर सत्यवती छाँगाबाट खसेजस्ती भइन् र डराउँदै भनिन्– ‘बाबु ! तिमी कुन कुराको सङ्केत गरिरहेका छौ । किन के भयो र ? कसले लगाउँदैछ हस्तिनापुरको भविष्यमाथि ग्रहण ?’
व्यासजीले क्षितिजतर्फ आँखा लगाउँदै भने– ‘यो समयको खेल हो आमा ! निकट भविष्यमै हस्तिनापुरमा यति दर्दनाक विपत्ति निम्तिने देख्दैछु, जुन तपाईँको आँखाले देख्न सक्ने छैन ।’
छोराको भविष्यवाणी सुनिसकेपछि सत्यवती सन्न्यास लिएर दुईवटी बुहारी अम्बिका र अम्बालिकालाई साथ लिएर वनतर्फ लागिन् र मुक्तिमार्गको खोजितिर लागिन् ।
आजको भिडियोमा यसै विषयलाई इतिहास, दर्शन र विज्ञानको दृष्टिकोणबाट केलाउने प्रयास गरेका छौँ । कस्तो लाग्छ अन्त्यसम्म हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गरेका छौँ ।