०१ साउन २०८३, शुक्रबार

विद्यार्थीमाथि भएको ‘सरकारी दमन’को एमालेद्वारा विरोध, पक्राउ परेकालाई बिनासर्त रिहा गर्न माग

असार ३१, २०८३
काठमाडौं
विद्यार्थीमाथि भएको ‘सरकारी दमन’को एमालेद्वारा विरोध, पक्राउ परेकालाई बिनासर्त रिहा गर्न माग

नेकपा (एमाले)ले सिंहदरबारको दक्षिण गेट अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग र गिरफ्तारी  गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले बुधबार जारी गरेको वक्तव्यमा मुलुकमा बढ्दो मूल्यवृद्धि, सुकुम्बासीमाथिको अत्याचार तथा राज्य आतंकको विरोधमा जनसरोकारका मुद्दा उठाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि सरकारले बर्बरतापूर्ण दमन गरेको आरोप लगाइएको छ ।

वक्तव्यमा सरकारले भिजिलान्ते शैली अपनाउँदै राजधानीका सञ्चारगृह, राजनीतिक नेता तथा व्यवसायीका निवास र कार्यालयमा गाडी पार्किङ गराएर राज्य संरक्षित अवरोध सिर्जना गरेको दाबी गर्दै त्यसको सांकेतिक विरोध गरिरहेका अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेताहरू जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले बलपूर्वक पक्राउ गरेको उल्लेख गरिएको छ ।

एमालेले नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारलाई कुण्ठित गर्दै सरकारले देखाएको रवैया लोकतन्त्र र मानवअधिकारको ठाडो उल्लंघन भएको टिप्पणी गरेको छ । 

एमालेले सरकारको उक्त कदमको कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दै पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष धामीसहित सातै जना विद्यार्थी नेतालाई तत्काल बिनासर्त ससम्मान रिहा गर्न सरकारसँग माग गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्