
बलिउडका उत्कृष्ट म्यूजिक कम्पोजर विशाल डडलानीलाई पछिल्लो ९ वर्ष चुरोटको लत लागेको थियो। र, उनको आवाजलाई नै हानी पुर्याउन थालेको थियो।
तर, उनले गत वर्ष सेप्टेम्बरमा धुम्रपान छाडे। विशालले आफ्नो यो यात्रालाई इन्स्टाग्राममा शेयर गरेका छन्।
नुसरत फतेह अली खानको गीत गाउँदै गरेको भिडियो सार्वजनिक गरेका उनले क्याप्सनमा ‘पछिल्लो एक दशकमा हजारौँ चुरोट पिउँदा आफ्नो आवाजमा पुगेको क्षतिबारे उल्लेख गरेका छन्।
उनले आफ्नो यस भिडियो क्याप्सनमा लेखेका छन्,‘मैले अगस्ट २०१९ को अन्तिम दिन चुरोट छोडेको थिएँ। लगातार ९ वर्ष प्रतिदिन ४० भन्दा बढी चुरोट पिउँदै रहे र एक वर्ष मैले वेपिङ पनि प्रयोग गरे। जो चुरोटभन्दा पनि राम्रो थियो। यस बाहेक कन्सर्ट्स र रेकर्डिङको क्रममा आफ्नो आवाजलाई एब्यूज पनि गरे। र, आवाजले मेरो साथ छोडी दियो।'
उनले यो पनि भनेका छन्, 'मैले कसैलाई बताएन तर साँचो यो हो कि म स्ट्रग्ल गरिरहेको थिए। मेरो रेन्ज, कन्ट्रोल, टोन, सबै गडबड भइरहेको थियो। सफ्ट तरिकाबाट गीत, मेरा लागि टाढाकाे विषय बनिरहेको थियो। जोकोही गायक यो कुरा मान्छन् कि लाउड गीतभन्दा मुश्किल सफ्ट तरिकाका गीत हुन्छन्। तपाईँहरुले पछिल्लो २ वर्षमा मबाट जति गीत सुन्नुभयो, ती कुनै पनि हिसावले ओरिजिनल साउन्डका थिएनन्।’
उनले अगाडि थपेका छन्, ‘तर मैले पछिल्लो ६ महिनाबाट चुरोटलाई पूर्ण रुपमा छाडेको छु। मलाई महसुस भएको छ कि मेरो त्यो आवाज फिर्ता भइसकेको छ,जो पहिले थियो। मेरो क्लीन टोन फिर्ता आएको छ। मेरो कन्ट्रोल राम्रो भएको छ, पहिले गीत गाउँदा अनकंफर्टेबल र दुखाइ महसुस हुन्थ्यो। तर, अब म गाउने क्रममा खुसी महसुस गर्छु। मेरो भन्नुको मतलब हो कि यदि तपाई धुम्रपान गर्नुहुन्छ भने आफूलाई नै पूरै रुपमा ड्यामेज गर्नुअघि तुरुन्त छाड्नुस्।'