
एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना संक्रमितको पहिचानमा सहयोग पु-याउन बुधबारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ।
यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स१७१००ह्यास डायल गरी कोरोनासँग सम्बन्धित पाँच वटा प्रश्नको जवाफ आफ्नो स्वास्थ्य स्थिति अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन्।
प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझावसहित सरकारले तोकेको हेल्पलाइन नम्बर र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ। हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ।
यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ। यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ। सर्वेक्षणमा भाग लिनु पूर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने, ‘यो सर्वेक्षणले ग्राहकलाई आफुमा कोरोनाको जोखिम भए/नभएको आफै थाहा पाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।’
सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै, एनसेल नेटवर्कभित्र रहेका हाम्रा सम्पुर्ण ग्राहकले यस सर्वेक्षणमा भाग लिई आफुमा कोरोनाभाइरस संक्रमणको जोखिम भए/नभएकोे थाहा पाउन सक्नेछन्। पहिला पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मा पुर्व तथा सूदुरपश्चिममा पनि शुरु गरेको थियो ।