२६ असार २०८३, शुक्रबार

सरकार, परदेशमा रहेका आफ्ना नागरिकप्रति कुनै दायित्व छैन ?

बैशाख ५, २०७७
सरकार, परदेशमा रहेका आफ्ना नागरिकप्रति कुनै दायित्व छैन ?
  • लेखनाथ सुवेदी

स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा नयाँ वर्ष २०७७ सालको हार्दिक शुभकामना ।

कोभिड-१९ अर्थात् कोरोनाभाइरस विश्व महामारीका रूपमा फैलिरँहदा नेपालदेखि बाहिर रहने लाखौं श्रमजीवी युवाहरू पनि यसको चपेटामा परेका छन् ।

कतिपयको काम गुमिसकेको अवस्था छ । कतिपय डरैडरको स्थितिमा काम गर्न बाध्य छन् । अहिले धेरैजसो परदेशीका दुःख–पीडा कहिललाग्दा छन् ।

परदेशमा कोरनाकै कारण ज्यान गुमाउने र संक्रमित हुने नेपालीहरूको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । कोरोना संक्रमणबाट सफल उपचार भएकाहरू पनि प्रशस्तै छन्।

म पनि प्रवासमा नै छु । घरदेखि सात समुन्द्र दूर कोरोना संक्रमिक शहरमा नै जीवन बिताइरहेको छु ।

प्रवासमा जतिसुकै सुरक्षितरूपले बसेको महसूस गरेतापनि यो अवस्थामा घर परिवार, आफन्त, साथीभाइहरूको याद आउनु, एक्लो महसूस हुनु, अत्यास लाग्नु, न्यास्रो अनुभूति पक्कै पनि सबैलाई हुन्छ । यस्तो अवस्थामा सबैजना आफ्नानजिक रहेका साथीहरूको सम्पर्कमा रहिरनुहोला ।

आत्मबल र सकारात्मक सोचाइको विकास गर्नुहोला । हरेक समस्याबाट जुध्न मानसिकरूपमा तयार रहनुहोला । 

आत्मबल र आत्मविश्वास भन्ने चिज संसारको सबैभन्दा ठूलो औषधि हो भन्ने सन्देश पनि दिन चाहन्छु । तपाईंहरू आफ्नो विचार र भावनाहरू स्वतन्त्रतापूर्वक व्यक्त गर्न सक्नुहुन्छ । परदेशमा तपाईं हाम्रा जीवन भोगाइ र विचारहरू पक्कै पनि अलग–अलग हुन्छ ।

समस्या पर्नेबित्तिकै नजिकको राजदूतावास, गैरआवासीय संगठन (एनआरएनए) तथा सामाजिक संस्थाहरूमा सम्पर्क गर्नुहोला । प्रवासमा तपाईं हामी अप्ठ्यारोमा पर्दा पहिलो मलम पट्टी यीनै संस्थाले लगाउन सक्नुपर्ने हुन्छ । यहाँबाट नै यथाशीघ्र साथ सहयोग पाउन सकिन्छ । सिधै सामाजिक सञ्जालमा भावविह्वल हुँदा त्यसले समाजमा नकारात्मक असर पार्न पनि सक्छ ।        
 
विश्व समुदाय र परिवेशलाई नजिकैबाट नियालेर हेर्दा विदेशीहरूले आफ्ना नागरिकहरूलाई खोजीखोजी स्वदेश लगेका प्रशस्तै उदाहरणहरू छन् । नेपालमा रहेका विदेशी नागरिकहरूलाई पनि सम्बन्धित देशको सरकारले प्लेन चार्टर गरेर स्वदेश फिर्ता गरिरहेको अवस्था छ ।

साठी लाखभन्दा बढी श्रमजीवी नेपाली युवा परदेशमा बस्दै काम गर्दै छन् भनेर बताउने नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयले पनि यो महामारीको समयमा आफ्ना नागरिकहरूको खोजीमा अलि बढी चासो दिनुपर्ने थियो । घरपरिवार र जन्मभूमिको माया के हो भनेर महाकालीमा पौडिएर तर्दै गरेका तस्वीर र सीमामा बसेर भोकै हारगुहार गरिरहेका आवाजहरूले बताइसकेका छ्न् ।

यस्तो अवस्थामा आफ्ना नागरिकको खोजी नगर्नु अत्यन्तै  दु:खद्  विषय हो । हरेकपटक राज्यलाई आपत्ति पर्दा बाढीपहिरो, महामारी, भूकम्प आउँदा प्रवासीहरूले लगाएको गुनलाई सरकारले बिर्सनु हुँदैन । आर्थिक संकट टार्नका लागि घरबाट टाढा भएका नेपालीहरू कसको पो रहर हुन्छ होला र !

कोरोनाको कोशेली लिएर घर फर्किनलाई ? विदेशदेखि आफ्नै खर्चमा देश फर्किन्छौं हामीलाई देश फर्किने वातावरण मिलाइयोस् भनेर भनिरहँदा सरकार र श्रम मन्त्रालय किन केही बोल्दैन ? स्वदेश फिर्ता हुन चाहनेहरूको मेडिकल स्वास्थ परीक्षण गरेर नेपाल एअरलाइन्समै आफ्ना नागरिकहरू फिर्ता लान सकिँदैन ? यस्तै विपत्तिको अवस्थामा  होइन र  राज्यको सम्पत्ति प्रयोग गरी आफ्ना नागरिकलाई सुरक्षा दिनुपर्ने ? जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोला भनेर मात्रै के सरकारको आफ्ना नागरिकप्रतिको उतरदायित्व पुरा हुन्छ होला ? 

विश्व नै आतंकित हुनेगरी कुनै देश, सीमा, भूगोल नभनी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लाखौं  श्रमजीवी युवाको रोजीरोटी खोसिएको अवस्थामा, श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा आपतकालीन हेल्प डेस्क र मोबाइल  नेटवर्क तयार गरिदिएको भए धेरै साथ र सहयोगको महसूस हुने थियो । रेमिट्यान्सको स्वाद मीठो मान्ने सरकारले प्रवासमा रहेका आफ्ना नागरिकलाई पैसा कमाउने औजारको रूपमा नलियोस् ।

सरकार प्रवासीहरूको सुख–दुःखको असल सहयात्री पनि बनोस् ।

salt training

कमेन्ट गर्नुहोस्